बाजुरा ः बाजुराको बुढीगंगा नगरपालिका-३ ताँप्रास्थित श्री पशुपति माध्यमिक विद्यालयले ICT सामग्री खरिदका लागि सार्वजनिक गरेको कोटेशन आह्वान प्रक्रिया माथि प्रश्न उठेको छ ।
विद्यालय प्रशासनले मिलेमतोका आधारमा निश्चित आपूर्तिकर्तालाई फाइदा पुग्ने गरी प्रक्रिया अघि बढाएको आरोप स्थानीय स्तरमा उठ्न थालेको छ ।
विद्यालयले २०८३ असार २२ गते ICT सम्बन्धी उपकरण खरिदका लागि कोटेशन आह्वान सम्बन्धी सूचना सार्वजनिक गरेको देखिए पनि उक्त निर्णय चार दिनसम्म गोप्य राखी २६ गते मात्र सार्वजनिक गरिएको आरोप लागेको छ ।
सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता र प्रतिस्पर्धा सुनिश्चित गर्नुपर्ने अवस्थामा ढिलाइ गरेर सूचना प्रकाशन गरिनुले नियत माथि नै प्रश्न खडा भएको एक जना स्थानीले नाम नभन्ने शर्तमा बताएका छन् ।
सूचनामा उल्लेख गरिएका उपकरण तथा प्राविधिक विवरण (स्पेसिफिकेसन) समेत नराखेर सीमित कम्पनी वा आपूर्तिकर्तालाई मात्रै अनुकूल हुने गरी तय गरिएको आशंका गरिएको छ ।
जसका कारण अन्य प्रतिस्पर्धी फर्म तथा व्यवसायीले सहभागी हुने अवसरबाट बञ्चित हुन सक्ने देखिएको छ । यसबाहेक विद्यालय व्यवस्थापन समिति (विव्यस) लाई समेत जानकारी नदिई वा आवश्यक छलफल नगरी खरिद प्रक्रिया अघि बढाइएको आरोप छ ।
विद्यालयको महत्वपूर्ण आर्थिक निर्णयमा विव्यसको भूमिका रहने भए पनि उक्त विषयमा समितिलाई बेखबर राखिएको स्रोतको दाबी छ । सार्वजनिक खरिद ऐन र नियमावलीले प्रतिस्पर्धात्मक, पारदर्शी तथा निष्पक्ष प्रक्रिया अवलम्बन गर्नुपर्ने व्यवस्था गरेको छ ।
तर सूचना सार्वजनिक भएको मिति, निर्णयको समय र प्रक्रिया हेर्दा विद्यालय प्रशासनले निश्चित पक्षलाई लाभ पुग्ने गरी ‘सेटिङ’ गरेको आशंका बलियो बन्दै गएको छ ।
यस विषयमा प्रधानाध्यापक दयाराम जोशीले भने प्राविधिक कारणवश सूचना प्रकाशनमा ढिलाइ भएको र केही त्रुटि देखिएकाले आवश्यक सुधार गरिने प्रतिक्रिया दिएका छन् ।
यद्यपी स्थानीय सरोकारवालाले खरिद प्रक्रियाको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । विद्यालयमा हुने सार्वजनिक खर्च पारदर्शी र उत्तरदायी हुनुपर्नेमा उनीहरुको जोड छ ।





प्रतिक्रिया