बाजुरा ःहुम्ला क्षेत्रका केही व्यक्तिले बाजुराको हिमाली गाउँपालिका-३ स्थित रानीसैन क्षेत्रबाट भोटे समुदायलाई लखेट्नुका साथै उनीहरूले प्रयोग गर्दै आएका भेडीगोठ तथा अस्थायी बासस्थानमा आगजनी गरेको आरोप लागेको छ। दुई साताअघि लाम्पाटा क्षेत्रमा भएको कुटपिट तथा दुर्व्यवहारको घटना साम्य नहुँदै रानीसैन क्षेत्रमा पुनः तनाव बढेको हो।
स्थानीय भोटे समुदायका अनुसार हुम्ला पक्षबाट आएका व्यक्तिहरूले रानीसैन क्षेत्रमा अस्थायी रूपमा भेडा चराउन बसेका बाजुराका भोटे समुदायलाई उक्त क्षेत्र छाड्न बाध्य पारेका छन्। उनीहरूले भेडीगोठमा आगजनी गर्नुका साथै मोबाइल फोनसमेत खोसेर लगेको आरोप लगाइएको छ।
भोटे जनजाति महासंघका केन्द्रीय अध्यक्ष जनक भण्डारीका अनुसार रानीसैन क्षेत्रमा भेडा, घोडा तथा परिवारसहित पुगेका ३५ भन्दा बढी भोटे परिवारलाई हुम्ला पक्षले उक्त क्षेत्र आफ्नो भएको दाबी गर्दै रानीसैन तालबाट बग्ने खोलापारी धपाएको छ।
स्थानीयका अनुसार आगजनीबाट भेडीगोठ, अस्थायी बासस्थान तथा भेडीखर्कमा लगिएका खाद्यान्न, भाँडाकुँडा लगायतका सामग्री जलेर नष्ट भएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका केही भिडियोमा भेडीगोठमा आगो लगाइएको दृश्य देखिएको दाबी गरिएको छ।
यस्तै, घटनास्थल पुगेका सुरक्षाकर्मीको उपस्थितिमै केही व्यक्तिले रानीसैन हुम्लाको क्षेत्र भएको भन्दै बाजुराका भोटे समुदायलाई त्यहाँबाट हटाइएको अभिव्यक्ति दिएको भिडियोसमेत सार्वजनिक भएको छ।
यसअघि जेठ ५ गते रानीसैन क्षेत्रमा पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसारका लागि पुगेको टोली माथि कुटपिट तथा दुर्व्यवहार भएको घटना पनि सार्वजनिक भएको थियो। उक्त घटनामा कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल सहितको टोलीमाथि आक्रमण भएको थियो।
घटनामा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा नम्बर ३ का वडा सदस्य पेमागारा गुरुङलगायत केही स्थानीय तथा सुरक्षाकर्मी घाइते भएका थिए।
त्यसअघि जेठ ३ गते हुम्लाबाट आएका केही व्यक्तिले लाम्पाटा क्षेत्रमा पुगेर वडा सदस्य गुरुङ सहित स्थानीयमाथि कुटपिट गरी केही समय नियन्त्रणमा राखेको आरोप समेत लागेको थियो।
पछिल्लो घटनापछि रानीसैन क्षेत्रको विवाद झन् जटिल बन्दै गएको स्थानीयबासीको भनाइ छ। भोटे समुदायले आफूहरु असुरक्षित बनेको गुनासो गर्दै तत्काल सुरक्षा व्यवस्था मिलाउन तथा घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। उनीहरुले आगजनी, कुटपिट तथा लुटपाटमा संलग्नलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
साथै, अन्तर जिल्ला सीमा तथा स्वामित्वसँग जोडिएका विवादलाई संवाद, समन्वय र कानुनी प्रक्रिया मार्फत समाधान गर्न स्थानीय तह, जिल्ला प्रशासन कार्यालय तथा संघीय सरकारको ध्यानाकर्षण गराइएको छ।
यद्यपि, पछिल्लो घटनाबारे जिल्ला प्रशासन कार्यालय बाजुरा, जिल्ला प्रहरी कार्यालय बाजुरा तथा अन्य सम्बन्धित निकायको आधिकारिक निष्कर्ष सार्वजनिक हुन बाँकी छ।
बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार घटनाको यथार्थ विवरण संकलनका लागि प्रहरी टोली रानीसैनतर्फ पठाइएको छ।
यस्तै, जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रहरी प्रमुख शैलेश्वरी बोहराले प्रहरी निरीक्षक लक्षिराज जोशीको नेतृत्वमा टोली घटनास्थलतर्फ परिचालन गरिएको जानकारी दिइन्।
उनका अनुसार टोली घटनास्थल पुगिसकेको हुन सक्ने भए पनि दुर्गम भूगोलका कारण तत्काल सम्पर्क हुन सकेको छैन। हुम्लाबाट समेत केही दिनअघि प्रहरी टोली घटनास्थल पुगेको जनाइएको छ।





प्रतिक्रिया