बाजुरा ः गौमुल गाउँपालिका-५ थलामा रहेको मानाकोट माध्यमिक विद्यालयले आफ्नो ६६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस-२०८३ विविध शैक्षिक, सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ ।
“शिक्षा, संस्कार, अनुशासन र गुणस्तरः समृद्ध भविष्यको आधार” भन्ने मूल नारालाई आत्मसात गर्दै आयोजित कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन, कविता वाचन, नाटक तथा स्थानीय कला-संस्कृतिको संरक्षण र प्रवद्र्धन झल्किने विविध प्रस्तुति दिएका थिए ।
कार्यक्रममा विद्यालयका विभिन्न सदनबीच प्रतिस्पर्धात्मक कार्यक्रम सञ्चालन गरिनुका साथै उत्कृष्ट विद्यार्थी तथा प्रतिभाहरुलाई सम्मान समेत गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम रोकायाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा, वडा नं. ४ का अध्यक्ष अमर विक, ५ का कार्यवाहक वडा अध्यक्ष रामबहादुर रोकाया, नेकपा (एमाले) गौमुल गाउँ कमिटी अध्यक्ष मोहन रोकाया, अभिभावक, शिक्षक, बुद्धिजीवी तथा स्थानीय सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउनुका साथै अभिभावक र विद्यालयबीचको सम्बन्धलाई थप मजबुत बनाएको सहभागीहरुको भनाइ रहेको थियो ।
विद्यालय परिवारले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, अनुशासन र संस्कारयुक्त सिकाइ वातावरण निर्माण गर्दै शैक्षिक उत्कृष्टताको यात्रालाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
“शिक्षित विद्यार्थी, समुन्नत समाज” भन्ने सन्देशका साथ सम्पन्न कार्यक्रमले विद्यालयको शैक्षिक तथा सामाजिक योगदानलाई थप उजागर गरेको छ ।





प्रतिक्रिया