बाजुरा ः गौमुल गाउँपालिका-४ का वडा अध्यक्ष अमर विकले गुणस्तरीय शिक्षा बिना समृद्ध समाजको परिकल्पना सम्भव नभएको बताएका छन् ।
गौमुल गाउँपालिका-५ थलामा रहेको मानाकोट माध्यमिक विद्यालयको ६६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको विशिष्ट अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
शिक्षा र विकास एक अर्काका परिपूरक पक्ष भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षाबाट मात्र समृद्ध समाज निर्माण सम्भव हुने बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष विकले विद्यालय केवल पठनपाठनको थलो मात्र नभई सभ्य, सक्षम र जिम्मेवार नागरिक उत्पादन गर्ने आधारभूमि भएको बताएका छन् ।
उनले शिक्षाले व्यक्तिको चेतना, क्षमता र सोचमा परिवर्तन ल्याउने भएकाले समग्र गाउँपालिका र राष्ट्रको विकासको मूल आधार शिक्षा नै रहेको धारणा राखेका छन् ।
“हामीले सडक, भवन र भौतिक पूर्वाधार निर्माण गर्न सक्छौं, तर ती संरचनाको सही उपयोग गर्ने दक्ष जनशक्ति उत्पादनका लागि शिक्षा अपरिहार्य छ,” उनले भने, “गुणस्तरीय शिक्षा बिना दिगो विकासको परिकल्पना गर्न सकिँदैन ।”
वडा अध्यक्ष विकले वर्तमान पुस्तालाई प्रतिस्पर्धी, सिर्जनशील र नैतिकवान बनाउन विद्यालय, अभिभावक र समुदायबीचको सहकार्य आवश्यक रहेको बताएका छन् ।





प्रतिक्रिया