बाजुरा ः गौमुल गाउँपालिका-४ नम्बर वडा कार्यालयका जनप्रतिनिधि तथा कर्मचारीहरुले सरकारी विदाको सदुपयोग गर्दै निजी खर्चमा रारा भ्रमण तथा अध्ययन-अवलोकन कार्यक्रम सम्पन्न गरेका छन् ।
वडा अध्यक्ष अमर विकका अनुसार निरन्तर जनताको सेवामा खटिने जनप्रतिनिधि र कर्मचारीहरुलाई कहिलेकाहीँ नयाँ स्थानको अध्ययन, अनुभव आदान-प्रदान, अनुसन्धान, अवलोकन तथा अन्वेषणबाट थप ज्ञान र ऊर्जा प्राप्त हुने विश्वासका साथ कार्यक्रम आयोजना गरिएको हो ।
उनले भने, “जनताको काममा सधैं तल्लीन रहने हामीहरुलाई नयाँ वातावरण, नयाँ सोच र नयाँ अनुभवबाट सिक्ने अवसर आवश्यक हुन्छ । अध्ययन-अवलोकनले काम गर्ने उत्साह, जोश र जाँगर बढाउँछ ।
त्यसैले जनताको सेवामा कुनै असर नपर्ने गरी सरकारी विदाको सदुपयोग गरेर यो भ्रमण आयोजना गरिएको हो ।” अध्यक्ष विकले भ्रमण पूर्ण रुपमा व्यक्तिगत खर्चबाट गरिएको स्पष्ट पार्दै राज्यकोषको एक रुपैयाँ पनि खर्च नगरिएको बताएका छन् ।
उनले जनप्रतिनिधि र कर्मचारीहरुबीचको सहकार्य, अनुभव आदान-प्रदान तथा सकारात्मक सोचको विकासका लागि यस्ता कार्यक्रम उपयोगी हुने उल्लेख गरेका छन् ।
“हामीले लुकाउनुपर्ने कुनै काम गरेका छैनौं । जनताले सूचना माग्दा जुनसुकै बेला दिन तयार छौं,“ अध्यक्ष विकले भने, “पारदर्शिता, जवाफदेहिता र जनविश्वास नै हाम्रो प्रमुख आधार हो ।”
रारा भ्रमणबाट प्राप्त अनुभव, सिकाइ र ऊर्जाले आगामी दिनमा वडा कार्यालयबाट प्रवाह हुने सेवा अझ प्रभावकारी, उत्तरदायी र जनमुखी बन्ने विश्वास व्यक्त गरिएको छ ।
स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नो जिम्मेवारी निर्वाहसँगै ज्ञान, सीप र दृष्टिकोण विस्तार गर्न अध्ययन-अवलोकनलाई समेत महत्व दिनुपर्ने धारणा सहभागीहरुले राखेका छन् ।
स्थानीयबासीहरुले पनि जनताको करको भार नपारी आफ्नै खर्चमा गरिएको अध्ययन-अवलोकनलाई सकारात्मक अभ्यासका रुपमा लिँदै यसबाट सेवाप्रवाहमा थप सुधार आउने अपेक्षा व्यक्त गरेका छन् ।





प्रतिक्रिया