बाजुरा ःविद्यालयस्तरमा लैङ्गिक समानता र समावेशी शिक्षण पद्धतिलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको “लैङ्गिक रुपान्तरित समावेशी कक्षाकोठा व्यवस्थापन सम्बन्धी तालिम” सदरमुकाम मार्तडी र बुढीगंगा नगरपालिका-६ फालासैनमा सम्पन्न भएको छ ।
गत जेठ ९ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको तालिम बुढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिकाका शिक्षकका लागि फालासैनमा तथा बडीमालिका नगरपालिका र गौमुल गाउँपालिकाका शिक्षकका लागि सदरमुकाम मार्तडीमा आयोजना गरिएको थियो ।
दुवै स्थानमा सम्पन्न तालिममा १६ जना महिला शिक्षिका र ४० जना पुरुष शिक्षक गरी कुल ५६ जना शिक्षक-शिक्षिकाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
तालिमको उद्देश्य विद्यालय शिक्षामा रहेका लैङ्गिक तथा समावेशीकरण सम्बन्धी समस्या र अवरोधहरुको पहिचान तथा विश्लेषण गर्न शिक्षकहरुलाई सक्षम बनाउनु, शिक्षामा हुने विभेद र बहिष्करण न्यूनीकरण गर्दै कक्षाकोठाको सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउनु तथा शिक्षकहरुको पेशागत क्षमता र सीप विकासमा सहयोग पुर्याउनु रहेको पीसविन परियोजना संयोजक पदम कठायतले जानकारी दिएका छन् ।
मार्तडीमा आयोजित समापन कार्यक्रम पीसविन महासचिव पार्वती जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो भने बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्का प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए । त्यस्तै फालासैनमा सम्पन्न कार्यक्रम पीसविन अध्यक्ष विमला थापाको अध्यक्षतामा सञ्चालन भएको थियो ।
कार्यक्रममा बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँ प्रमुख अतिथिका रुपमा उपस्थित रहेका थिए । तालिम प्लान इन्टरनेशनल नेपाल र पीसविनको सहकार्यमा सञ्चालित “आभा परियोजना” अन्तर्गत आयोजना गरिएको हो ।
उक्त परियोजना २०८२ पुसदेखि बाजुराका बडीमालिका नगरपालिका, बुढीगंगा नगरपालिका, त्रिवेणी नगरपालिका र गौमुल गाउँपालिकामा कार्यान्वयन हुँदै आएको छ ।
आयोजकका अनुसार तालिमले विद्यालय तहमा समावेशी, सुरक्षित र लैङ्गिक मैत्री सिकाइ वातावरण निर्माण गर्न शिक्षकहरुलाई थप सक्षम बनाउने विश्वास लिइएको छ ।





प्रतिक्रिया