गाैमुल खबर डटकम बुधबार ०३, असार २०८३ ०२:४०

“जान्नेलाई छान्ने” नारामै प्रश्न : अनुमति बिनै सदस्यता सार्वजनिक भएपछि रास्वपा विवादमा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, जेठ ११, २०८३
“जान्नेलाई छान्ने” नारामै प्रश्न  : अनुमति बिनै सदस्यता सार्वजनिक भएपछि रास्वपा विवादमा

बाजुरा ः वैकल्पिक राजनीतिको दाबी गर्दै “जान्नेलाई छान्ने” नारा अघि सारेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला आफ्नै डिजिटल सदस्यता अभियानका कारण विवादमा तानिएको छ । अनुमति, सत्यता र सम्बन्धित व्यक्तिको जानकारी बिनै सदस्यता विवरण सामाजिक सञ्जालमा सार्वजनिक भएपछि रास्वपाको प्रविधि माथि मात्रै होइन, पार्टीको नैतिकता र जिम्मेवारी माथि समेत गम्भीर प्रश्न उठेको छ ।

रास्वपाले पछिल्लो समय देशभर अनलाइन प्रणाली मार्फत तीव्र रुपमा सदस्यता विस्तार गरिरहेको छ । आधुनिक प्रविधिको प्रयोग मार्फत सदस्यता वितरण गर्ने अभियानलाई सुरुवाती चरणमा सकारात्मक अभ्यासका रुपमा हेरिए पनि बाजुरामा भने यही प्रणाली दुरुपयोग भएको आरोप सार्वजनिक भएको हो ।

आइतबार सार्वजनिक भएको घटनापछि रास्वपाको डिजिटल सदस्यता प्रणालीको विश्वसनीयता माथि प्रश्न उठ्न थालेको छ । अनलाइन सदस्यता वितरणको नाममा व्यक्तिको अनुमति नै नलिई नाम, तस्वीर र व्यक्तिगत विवरण प्रयोग गरेर सदस्यता बनाइएको घटना बाहिरिएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ ।

लामो समयदेखि नेपाली काँग्रेसमा सक्रिय बुढीगंगा नगरपालिका-४ की काँग्रेस नेतृ पूजा कुमारी खड्का (खाती)को अनुमति तथा जानकारी बिनै उनको नाममा रास्वपाको सदस्यता बनाइएको पाइएको हो । बाजुरा १ (ख) ०००२५००८२ नम्बर उल्लेख गरिएको उक्त सदस्यताको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना बाहिरिएको थियो ।

त्यसैगरी, बुढीगंगा नगरपालिका-१० की कमला ल्वारको नाममा बनेको सदस्यता पनि सामाजिक सञ्जालमा शेयर गरिएको थियो । केही रास्वपा निकट व्यक्तिहरुले ती सदस्यताका तस्वीर फेसबुक मार्फत सार्वजनिक गरेका थिए । “अनिल बुढा” नामको फेसबुक पेजबाट पोस्ट सार्वजनिक भएपछि काँग्रेस नेतृ खड्काले तत्काल आपत्ति जनाउँदै स्पष्टिकरण दिएकी थिइन् ।

त्यसलगत्तै उक्त पोस्टबाट सदस्यताको तस्वीर हटाइएको थियो । खड्काले आफ्नो अनुमति, इच्छा र जानकारीबिनै सदस्यता बनाइएको भन्दै यसलाई आफ्नो राजनीतिक चरित्रहत्या गर्ने सुनियोजित प्रयास भएको आरोप लगाएकी छन् ।

सामाजिक सञ्जाल मार्फत उनले आफू नेपाली काँग्रेसप्रति निष्ठावान कार्यकर्ता रहेको स्पष्ट पार्दै आफ्नो नाम, तस्वीर र व्यक्तिगत विवरण प्रयोग गरेर गरिएको भ्रामक प्रचारप्रति कडा आपत्ति जनाएकी छन् । घटनापछि सामाजिक तथा व्यक्तिगत रुपमा असर परेको भन्दै चौतर्फी आलोचना सुरु भएको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले अनुमति बिना कसैको विवरण सार्वजनिक गर्नु गैरजिम्मेवार र राजनीतिक असहिष्णुताको उदाहरण भएको टिप्पणी गरेका छन् । विवाद बढेपछि पोस्ट सार्वजनिक गर्ने व्यक्तिले पनि फेसबुक मार्फत धारणा सार्वजनिक गर्दै आफूले कसैको चरित्रहत्या वा अपमान गर्ने उद्देश्य नराखेको बताएका छन् ।

उनका अनुसार उक्त सदस्यताको विवरण आफूलाई म्यासेन्जर मार्फत प्राप्त भएको थियो र आफ्नै पालिकाको सदस्यता आएको बुझेर स्वाभाविक रूपमा सार्वजनिक गरिएको दाबी गरेका छन् । “कसले फारम भरेको थियो, डकुमेन्ट कसले दिएको थियो वा त्यसको सत्यता के थियो भन्ने विषयमा मलाई जानकारी थिएन,” उनले उल्लेख गरेका छन् ।

साथै, पोस्टका कारण सम्बन्धित व्यक्तिमा परेको व्यक्तिगत तथा सामाजिक असरप्रति क्षमायाचना समेत गरेका छन् । भविष्यमा यस्ता आधारहीन सामग्रीप्रति थप सचेत रहने प्रतिबद्धता जनाउँदै उनले रास्वपाका समर्थक तथा कार्यकर्तालाई भ्रामक सामग्री प्रचार नगर्न आग्रह गरेका छन् । यता रास्वपा बाजुराका सचिव मीनबहादुर सिंहले उक्त घटनाबारे आफूलाई औपचारिक जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

उनले बुढीगंगा नगर समितिसँग बुझ्ने बताएका छन् । यो घटनापछि रास्वपाको सदस्यता प्रणाली, व्यक्तिगत विवरणको सुरक्षा तथा कार्यकर्ताको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठ्न थालेको छ । आलोचकहरूले “जान्नेलाई छान्ने” नारा बोकेको पार्टीकै अभियानबाट अनुमति बिना सदस्यता सार्वजनिक हुनु विडम्बनापूर्ण भएको टिप्पणी गरेका छन् ।

राजनीतिक विश्लेषकहरूका अनुसार प्रविधिको प्रयोग सकारात्मक भए पनि त्यसको दुरुपयोग हुँदा व्यक्तिको सामाजिक प्रतिष्ठामाथि आघात पुग्ने भएकाले राजनीतिक दलहरु अझ जिम्मेवार बन्न आवश्यक छ । अहिले यो विषय बाजुरामा मात्रै सीमित नरही सामाजिक सञ्जालभर चर्चाको केन्द्र बनेको छ ।
 

प्रतिक्रिया