बाजुरा ः बाजुरा रानीसैन-लाम्पाटा विवादका कारण अवरुद्ध बनेको कर्णाली करिडोर पुनः सञ्चालनमा आएको छ । हिमाली गाउँपालिका-३ को लाम्पाटा क्षेत्रमा उत्पन्न विवादपछि बन्द गरिएको करिडोर जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रशासन, राजनीतिक दल तथा स्थानीय सरोकारवालाबीच भएको ६ बुँदे सहमतिपछि खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रहरी नायव उपरीक्षक शैलेश्वरी बोहराका अनुसार केन्द्र सरकार मार्फत उच्चस्तरीय छानबिन समिति गठन गर्ने, विवादित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षा टोली परिचालन गर्ने तथा दुवै जिल्लाका स्थानीयलाई संयमता अपनाउन आग्रह गर्ने सहमति भएपछि करिडोर खुलाइएको हो ।
केन्द्रमा उच्च स्तरीय छानविन समिति गठन, नेपाल प्रहरी र सशस्त्र प्रहरी सोही ठाउँमा सुरक्षाका लागि तैनाथ भएपछि अवरुद्ध सडक खुलेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक शैलेश्वरी बोहराले जानकारी दिएकी छन् ।
रानीसैन–लाम्पाटा क्षेत्रको सीमा विवाद तथा अस्थायी प्रहरी चौकी स्थापना गर्ने विषयलाई लिएर बाजुरा र हुम्लाका स्थानीयबीच तनाव उत्पन्न भएको थियो । घटनाका क्रममा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडा सदस्य सहित पाँच जना घाइते भएपछि स्थानीयले धुलाचौर क्षेत्रमा कर्णाली करिडोर अवरुद्ध गरेका थिए ।
स्थानीयले भने ऐतिहासिक दस्तावेज, नापी अभिलेख र सरकारी प्रमाणका आधारमा मात्रै सीमा विवाद टुंगो लगाउनुपर्ने माग राख्दै आएका छन् । विवाद समाधानका लागि केन्द्र सरकारले निष्पक्ष छानबिन गरी स्थायी समाधान निकाल्नुपर्ने दबाब समेत बढ्दै गएको छ ।





प्रतिक्रिया