बाजुरा ःगौमुल गाउँपालिका-२ मल्लोदुगुनस्थित फूल्पाटा माध्यमिक विद्यालयको ५१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा सुरु गरिएको छ ।
ज्येष्ठ ९ गतेदेखि सुरु भएको कार्यक्रम विद्यालय परिसरमा उत्साहपूर्ण वातावरणका बीच सञ्चालन भइरहेको विद्यालयले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र बोहराको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन कार्यक्रममा वडा सदस्य देवबहादुर बोहरा प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए ।
कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयबासीको उपस्थिति रहेको थियो । वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले सदनात्मक नृत्य, सदनात्मक गायन प्रतियोगिता, कक्षागत नृत्य लगायतका विविध सांस्कृतिक तथा शैक्षिक कार्यक्रम सञ्चालन गरिएको छ ।
कार्यक्रममा विद्यार्थीहरुले प्रस्तुत गरेका कला र प्रतिभाले दर्शकको मन जितेका थिए । त्यसैगरी विद्यालयका प्रधानाध्यापक गणेश कुमार रावतले विद्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै विद्यालयले शैक्षिक, भौतिक तथा अतिरिक्त क्रियाकलापतर्फ हासिल गरेका उपलब्धिबारे जानकारी दिएका थिए ।
उनले विद्यालयको गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक र समुदायबीचको सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन् । विद्यालयका अनुसार वार्षिकोत्सव अन्तर्गत अन्य विविध कार्यक्रमहरु समेत निरन्तर सञ्चालन भइरहेका छन् ।
उक्त कार्यक्रमले विद्यालय र समुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाउनुका साथै विद्यार्थीमा सिर्जनशीलता र आत्मविश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।





प्रतिक्रिया