बाजुरा ःबाजुराको हिमाली गाउँपालिका-३ अन्तर्गत पर्ने रानीसैन-लाम्पाटा क्षेत्रमा वर्षौँदेखि हुँदै आएको तनाव र दबाबपूर्ण गतिविधिपछि अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सीमा अतिक्रमण र स्थानीयमाथि हुने दादागिरीको विरोध चर्किंदै गएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली त्यस क्षेत्रमा परिचालन गरिएको हो ।
हालै हुम्लाको खार्पुनाथ गाउँपालिका-२ थलीका स्थानीयको समूहले हिमाली-३ का वडा सदस्य पेमा गारा गुरुङ सहित पाँच जना माथि कुटपिट गरेको घटनापछि बाजुराबासी थप आक्रोशित बनेका छन् ।
स्थानीयका अनुसार वर्षौँदेखि रानीसैन-लाम्पाटा क्षेत्रमा बाजुराका नागरिकमाथि मानसिक दबाब सिर्जना गर्ने, आवतजावतमा अवरोध गर्ने तथा आफ्नो भूमि उपयोग गर्न समेत डराउने वातावरण बनाइएको थियो ।
“हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ” अभियान लिएर साइपाल बेसक्याम्पतर्फ गइरहेको धनगढीका मेयर गोपाल हमाल र रानीसैन बहसका लागि हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लको नेतृत्वको टोली समेत अवरोधका कारण गन्तव्यमा पुग्न नसकी फर्किन बाध्य भएको घटना पछि विषय झन् राष्ट्रिय बहसमा पुगेको छ ।
घटनापछि जिल्ला प्रहरी कार्यालय बाजुराले प्रहरी निरीक्षक लक्ष्मीराज जोशीको नेतृत्वमा १० जनाको प्रहरी टोली लाम्पाटातर्फ पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रहरी नायव उपरीक्षक शैलेश्वरी बोहराका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त क्षेत्रको वस्तुगत अवस्था बुझ्ने तथा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने काम गरिरहेको छ । शनिबार खटिएको टोली आइतबार बिहान बौडीबाट लाम्पाटातर्फ प्रस्थान गरेको जनाइएको छ ।
टोलीसँग आवश्यक सामग्री तथा भारी समेत भएकाले साँझसम्म घटनास्थल पुग्ने अनुमान गरिएको छ । सशस्त्र प्रहरीको नेतृत्व प्रहरी सहायक निरीक्षक (असई)ले गरेका छन् ।
रानीसैन-लाम्पाटा क्षेत्रमा प्रहरी चौकी स्थापना गर्ने तयारी समेत अघि बढाइएको छ । कुटपिटमा घाइते भएका वडा सदस्य पेमा गारा गुरुङसहित घाइतेहरुको काठमाडौँमा उपचार गरिएको थियो भने स्वास्थ्य अवस्था सामान्य भएपछि उनीहरु डिस्चार्ज भएका छन् ।
स्थानीय अगुवाहरुले अब राज्यले ऐतिहासिक तथ्य, नापी अभिलेख र प्रशासनिक प्रमाणका आधारमा वास्तविकता स्पष्ट पार्दै बाजुराको भूमि संरक्षणमा दृढ कदम चाल्नुपर्ने बताएका छन् ।
उनीहरुका अनुसार वर्षौँदेखि सहनशीलताका नाममा बाजुराबासी दबाबमा बस्न बाध्य भएपनि अब सत्य र अधिकारका पक्षमा एकजुट आवाज उठ्न थालेको छ ।





प्रतिक्रिया