काठमाडौं : नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टी रूपान्तरण नै गर्ने भए ६० वर्ष नाघेका सबै नेताहरू पदबाट बिदा हुनुपर्ने बताएका छन् । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।
बैठकमा बोल्ने क्रममा उनले ‘रूपान्तरण रूपान्तरण भनेर मात्रै’ नहुने बताएका थिए । त्यसका लागि सबै ६० नाघेका नेताहरू बिदा भएर युवा तहमा पार्टी नेतृत्व पुर्याउने उनको सुझाव थियो ।
‘पार्टी रूपान्तरण नै गर्ने भए ६० वर्षमाथिका सबै नेताहरू पदमा नबसौं,’ उनले बैठकमा राखेको धारणा उद्धृत गर्दै एक नेताले भने, ‘त्यसो हुँदा पार्टी युवाको हातमा पुग्छ ।’शुक्रबारबाट जारी एमाले केन्द्रीय सचिवालय बैठकमा नेताहरूले निरन्तर आ-आफ्ना धारणा राखिरहेका छन् ।
शुक्रबार पाँच जना उपाध्यक्षले धारणा राखेका थिए । त्यस्तै, शनिबार महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र ५ जना सचिवले धारणा राखेका छन् । शनिबार धारणा राख्नेमध्ये उपमहासचिव योगेश भट्टराईले खुलेरै ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरे ।
महासचिव पोखरेलले भने घुमाउरो शैली प्रयोग गर्दै अहिलेकै अवस्थामा पार्टी अघि बढ्न नसक्ने बताएका थिए । उपाध्यक्ष रामबहादुर थापा र महेश बस्नेतले भने संकटको बेला भएको भन्दै नेतृत्वको रक्षा गर्नुपर्ने बताएका छन् ।





प्रतिक्रिया