गाैमुल खबर डटकम बुधबार ०३, असार २०८३ ०३:५०

रानीसैन घटनाले बाजुरा आक्रोशित : चार पालिकाद्वारा दोषीलाई कारबाहीको माग

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, जेठ ०६, २०८३
रानीसैन घटनाले बाजुरा आक्रोशित : चार पालिकाद्वारा दोषीलाई कारबाहीको माग

बाजुरा ः बाजुराको लाम्पाटामा भएको विवाद तथा आक्रमणविरुद्ध बाजुराका चार स्थानीय तहले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाप्रति आपत्ति जनाएका छन् । बाजुराका हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाकाले बुधबार संयुक्त विज्ञप्तिमार्फत घटनामा संलग्न माथि कारबाहीको माग गरेका हुन् ।

विज्ञप्तिमा ‘विवादको निराकरण गरी थप दुर्घटनाबाट जोगाउन जिल्ला प्रशासन कार्यालय बाजुरा, जिल्ला समन्वय समितिको कार्यालय बाजुरा, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सुदूरपश्चिम प्रदेश, नेपाल सरकार गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको ध्यानाकर्षण गराउँछौं’ भनिएको छ ।

विगतमा बाजुराको हिमाली गाउँपालिकाको वडा नं ३ मा पर्ने लाम्पाटा, च्याचउर रानीसैन साविक बिच्छ्या गाविसका बासिन्दाले उपभोग गर्दै आएको र नेपाल सरकारको नापी विभागले सन् २००१ मा फिल्ड भेरिफिकेसनसहित जारी गरिएको नेपालको नक्सा सिट नं २९८१००३ मा स्पष्टसँग साक्या लाग्ना, डाँडालेप्च्या र ठोसाभन्दा माथि हुम्ला र तल बाजुरा भन्ने छुट्याइएको छ,’ विज्ञप्तिमा भनिएको छ,

‘साक्या लाग्नाभन्दा तलका जेखुङ्खर्क, मायोङ्खर्क, रानीखर्क, धौली खर्क, च्याचौर र लाम्पाटा बाजुरामा पर्ने स्पष्ट कानुनी आधार हुँदाहुँदै हुम्लाको खार्पुनाथ क्षेत्रका बासिन्दाले आफ्नो हो भनी बाजुराका नागरिकमाथि गरिएको हमला निन्दनीय छ ।'

रानीसैन क्षेत्र र सीमावर्ती क्षेत्रका जनताको दावी निराधार र तथ्यहीन भएकाले सत्यतथ्य र प्रमाणका आधारमा यस विवादको निराकरण गरी थप दुर्घटनाबाट जोगाउन विज्ञप्तिमा भनिएको छ ।

हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्ल, स्वामीकार्तिक खापरका अध्यक्ष भरतबहादुर रोकाया, बुढीनन्दाका नगर प्रमुख जनककुमार बोहरा र जगन्नाथका अध्यक्ष कालीबहादुर शाहीले उक्त विज्ञप्ती जारी गरेका हुन् ।

हुम्लाको खार्पुनाथ गाउँपालिका-२, थाली लगायत उक्त क्षेत्रका स्थानीय बासिन्दा मंगलबार लाम्पाटा आएर एक्कासि आक्रमण गर्दा हिमाली गाउँपालिका-३ का वडा सदस्य पेमा गारा गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, मीन कुँवर, प्रहरी सहायक हवल्दार महेश धामी र हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा घाइते भएको बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।

वडा सदस्य पेमाको घरमा खार्पुनाथबाट दर्जनौ संख्यामा युवाहरू आएर कुटपिट गर्नुका साथै घरमा तोडफोड गरिएको प्रजिअ निरौलाले बताए । त्यस क्रममा ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं’ अभियानका क्रममा साइपाल हिमालको पूर्वी बेसक्याम्प रानीसैन जाने क्रममा रहेको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल लगायतको टोलीमाथि पनि खार्पुनाथका बासिन्दाले अवरोध गरेका छन् ।

अवरोधपछि हमालसहितको टोली रानीसैन नपुगी फर्किएको छ । लाम्पाटा बाजुराको अन्तिम गाउँ हो, त्यहाँदेखि रानीसैन पुग्न करिब पाँच घण्टा पैदल  यात्रा गर्नुपर्छ ।

बाजुराले प्रहरी चौकी स्थापना गर्न खोज्दा हुम्लाले सिमाना विवाद भनिए पनि भित्री रूपमा रानीसैन विच्छ्या क्षेत्रबाट हुम्लाका व्यवसायी र केही राजनीतिकर्मीले जडीबुटी र वन्यजन्तुको चोरी तस्करीमा अवरोध हुने भएपछि चौकी स्थापना हुन नदिने र पर्यटकहरूको आवागमन पनि हुन नदिने योजना अनुसार उक्त घटना गराएको बाजुराका प्रदेश सांसद नरेश कुमार शाही बताउँछन् ।

May be an illustration of blueprint and text

प्रतिक्रिया