बाजुरा ःपूर्व संघीय सांसद लालबहादुर थापाले बाजुराको रानीसैन-लाम्पाटा क्षेत्रमा देखिएको सीमा विवाद प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुक मार्फत एक अपिल जारी गर्दै ऐतिहासिक तथ्य, कानुनी आधार तथा आपसी समझदारीका माध्यमबाट समस्याको न्यायपूर्ण समाधान खोज्न आग्रह गरेका हुन् ।
उनले सीमा तथा भूभागको विषय नागरिकको भावना र पहिचानसँग जोडिएको संवेदनशील विषय भएकाले कुनै पनि पक्षबाट उत्तेजना फैलाउने, द्वन्द्व निम्त्याउने वा सामाजिक सद्भाव बिथोल्ने गतिविधि नगर्न सबैलाई आग्रह गरेका छन् ।
पूर्व सांसद थापाले बाजुरा र हुम्ला जिल्लाका नागरिकबीच सदियौँदेखि कायम भाइचारा, सहकार्य र सामाजिक सम्बन्ध जोगाउँदै विवाद समाधानका लागि सम्बन्धित निकायले निष्पक्ष पहल गर्नुपर्ने उल्लेख गरेका छन् ।
उनले सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, नागरिक प्रशासन, सुरक्षाकर्मी तथा स्थानीय नागरिकलाई संयमता अपनाई संवाद मार्फत समाधान खोज्न हार्दिक आग्रह गरेका छन ।
“शान्ति, सद्भाव र न्यायपूर्ण समाधान नै हामी सबैको साझा हित हो,” उनले उल्लेख गरेका छन् । त्यस्तै, घटनामा घाइते भएकाहरुको शीघ्र तथा प्रभावकारी उपचारको सम्पूर्ण व्यवस्था राज्यले गर्नुपर्ने माग गर्दै उनले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
साथै घटनामा संलग्न दोषी माथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न पनि उनले माग गरेका छन् । स्थानीय स्तरमा देखिएको विवादलाई राजनीतिक वा सामाजिक द्वन्द्वतर्फ लैजानुभन्दा संवाद, सहमति र ऐतिहासिक यथार्थका आधारमा समाधान खोज्नुपर्ने आवाज अहिले बाजुराली समुदायबाट समेत उठ्न थालेको छ ।





प्रतिक्रिया