गाैमुल खबर डटकम बुधबार ०३, असार २०८३ ०३:३१

बाजुराको भूभागमा हस्तक्षेप : सीमा विवाद चर्किँदा झडप, वडा सदस्य सहित पाँच जना घाइते

बाजुरा
रमित वि.क.
मङ्गलबार, जेठ ०५, २०८३
बाजुराको भूभागमा हस्तक्षेप : सीमा विवाद चर्किँदा झडप, वडा सदस्य सहित पाँच जना घाइते

बाजुरा ः बाजुराको हिमाली गाउँपालिका-३ लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण र सीमाको विषयलाई लिएर भएको विवाद झडप परिणत हुँदा पाँच जना घाइते भएका छन् । मंगलबार बिहान सीमा विवादको विषयलाई लिएर हुम्लाको खार्पुनाथ गाउँपालिका-२ थालीका स्थानीयले विरोध जनाएका थिए ।

सोही क्रममा बाजुराको हिमाली गाउँपालिकाका स्थानीय र उनीहरुबीच झडप भएको थियो । झडपमा पाँच जना समान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले बताएका छन् ।

उनका अनुसार घाइते हुनेमा हिमाली गाउँपालिका-३ का वडा सदस्य ३४ वर्षीय पेमा गारा गुरुङ, उनकी श्रीमती ३३ वर्षीया लक्ष्मी गुरुङ, २४ वर्षीया मीनु कुँवर, प्रहरी चौकी बिच्छ्यामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी र हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापा रहेका छन् ।

उनीहरुको ढाड, गर्धन, छाती तथा खुट्टामा चोट लागेको भएपनि अवस्था भने सामान्य रहेको छ । सीमाको विषयमा विगतदेखि नै विवाद भएपनि मंगलबार बिहान हिमाली गाउँपालिका अध्यक्ष सहित हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं अभियान अन्तर्गत सैपाल हिमालको बेस क्याम्प गइरहेको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसहितको टोली पुगेका बेला घटना भएको हो ।

भ्रमण टोलीले ड्रोन मार्फत भिडियो खिच्ने क्रममा हुम्लाको खार्पुनाथ गाउँपालिका-२ थाली गाउँका स्थानीय आक्रोशित बनेका थिए । करिब ३०० जनाको संख्यामा आएका स्थानीय आक्रमणमा उत्रिएका थिए ।

विवादपछि भने मेयर हमालसहितको टोलीलाई स्थानीयले त्यहाँबाट अघि बढ्न नदिएको प्रहरीको भनाइ रहेको छ । सञ्चार सम्पर्क हुन नसकेका कारण मेयर हमालको टोली फर्कियो कि अघि बढ्यो भन्ने कुरा नखुलेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले लाम्पाटामा प्रहरी चौकी भवन निर्माण गर्न ४० लाख रुपैयाँ बजेट छुट्याएको थियो । तर हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीका स्थानीयले उक्त क्षेत्रमा विगतदेखि चलनभोग गर्दै आएको भन्दै चौकी निर्माण गर्न नदिने अडान लिदै आएका छन् । तर सीमा विवाद समाधानका लागि ठोस पहल भने हुन सकेको छैन ।

स्थानीयबासीले बाजुराको भूभागमा पटक-पटक विवाद सिर्जना भइरहेपनि सीमा समस्या समाधानका लागि राज्यले प्रभावकारी पहल नगरेको गुनासो गरेका छन् । सीमा विवाद समाधानका लागि दुबै जिल्लाका सरोकारवाला निकायबीच तत्काल समन्वय र स्पष्ट निर्णय आवश्यक रहेको स्थानीयको माग छ ।

May be an image of mountain and nature

प्रतिक्रिया