बाजुरा ः प्रतिनिधिसभा सदस्य जनकराज गिरीले बाजुराका दुई स्थानीय तह अझै सडक सञ्जालको पहुँचबाट बाहिर रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये अझै दुई पालिका सडक सञ्जालसँग जोडिन नसकेको बताएका हुन् ।
उनका अनुसार स्वामीकार्तिक खापर गाउँपालिकास्थित कर्णाली नदी र त्रिवेणी नगरपालिका जोड्ने बुढीगंगा नदीमा पक्की पुल नहुँदा स्थानीय नागरिकले सास्ती खेप्दै आएका छन् ।
सांसद गिरीले प्रतिनिधिसभामा बोल्दै भने, “कर्णाली र बुढीगंगा नदीमा पुल नहुँदा स्थानीयबासी अझै सडक सञ्जालको पहुँचबाट वञ्चित हुनुपरेको छ ।”
उनले त्रिवेणी नगरपालिका जोड्ने बुढीगंगा नदीमा पुल निर्माणका लागि २०७८ फागुन ९ गते ठेक्का सम्झौता भएको र २०८१ फागुन १० गते सम्पन्न हुनुपर्ने आयोजना हालसम्म अलपत्र अवस्थामा रहेको बताएका छन् ।
सांसद गिरीले सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउँदै कर्णाली र बुढीगंगा नदीमा तत्काल पक्की पुल निर्माणको प्रक्रिया अघि बढाउन माग गरेका छन् ।





प्रतिक्रिया