बाजुरा ः गौमुल गाउँपालिकामा स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम पुनः नियमित रुपमा सञ्चालन गरिने भएको छ ।
अबदेखि नेपाल सरकारले विद्यालयलाई खाद्यान्न उपलब्ध गराउने पुरानो व्यवस्था हटाएर नगद रकम उपलब्ध गराउने नीति लागू गरेसँगै कार्यक्रमलाई थप प्रभावकारी बनाइने भएको हो ।
शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख राम नाथले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको दैनिक हाजिरीका आधारमा दिवा खाजाको रकम भुक्तानी गरिने जानकारी दिएका छन् ।
उनका अनुसार स्थानीय कृषक, कृषक समूह तथा सहकारीसँग साझेदारी गरी विद्यालयमा ताजा तथा स्थानीय उत्पादनमा आधारित पोषणयुक्त खाजा उपलब्ध गराइनेछ ।
कार्यक्रम मार्फत स्थानीय कृषि उत्पादनको प्रवर्द्धन हुनुका साथै किसानको उत्पादनले बजार पाउने, विद्यालयस्तरमै पोषण सुधार हुने तथा स्थानीय अर्थतन्त्र चलायमान बन्ने अपेक्षा गरिएको छ । साथै, विद्यालयमा विद्यार्थीको नियमित उपस्थिति समेत बढ्ने विश्वास गरिएको छ ।
यस विषयमा आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता थापा, वडा अध्यक्ष अमर विक लगायत स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम सम्बन्धित समितिका पदाधिकारी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
सहभागीहरुले स्थानीय स्रोत, उत्पादन र श्रमलाई प्राथमिकता दिँदै विद्यालय दिवा खाजा कार्यक्रमलाई दीर्घकालीन तथा प्रभावकारी बनाउन आवश्यक सहकार्य र समन्वयलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।





प्रतिक्रिया