बाजुरा ःअख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको आयोजनामा गौमुल गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
“सुशासन र समृद्धि, नागरिकको अधिकार : भ्रष्टाचार नियन्त्रणमा बनौँ सबै जिम्मेवार” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कञ्चनपुरका शाखा अधिकृत हरिप्रसाद उपाध्यायको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष हरिबहादुर रोकाया प्रमुख अतिथि तथा उपाध्यक्ष सीता थापा विशिष्ट अतिथिका रुपमा सहभागी भएका थिए ।
कार्यक्रममा जनप्रतिनिधि, विषयगत शाखाका प्रमुख, विद्यालयका प्रधानाध्यापक, कर्मचारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सुशासन प्रवद्र्धन, सेवा प्रवाहमा पारदर्शिता, सार्वजनिक जवाफदेहिता तथा भ्रष्टाचार नियन्त्रणका विषयमा व्यापक छलफल समेत गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले व्यक्ति स्वयं अनुशासित र जिम्मेवार भए स्वतः नियमको पालना हुने बताएका छन् ।
उनले समाजमा एक-अर्काप्रति सहिष्णुता, सद्भाव र विश्वास कायम भए हरेक गतिविधिको अनावश्यक निगरानी आवश्यक नपर्ने धारणा व्यक्त गरेका छन् ।
अध्यक्ष रोकायाले स्थानीय तहले जनताको सेवा प्रवाहका क्रममा कतिपय प्राविधिक तथा प्रक्रियागत कमजोरी हुन सक्ने उल्लेख गर्दै त्यस्ता विषय अख्तियारसम्म पुग्नु स्वाभाविक प्रक्रिया भएको बताएका छन् ।
“गल्ती सुधार्दै अघि बढ्ने संस्कार आवश्यक छ, त्यसलाई नकारात्मक रुपमा लिनु हुँदैन,” उनले भने । कार्यक्रममा सहभागीहरुले सार्वजनिक निकायमा पारदर्शिता, आर्थिक अनुशासन, उत्तरदायित्व र नागरिक सहभागिता बढाउनुपर्नेमा जोड दिएका थिए ।
साथै स्थानीय तहमा हुने अनियमितता न्यूनीकरण गर्दै सुशासन कायम गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने निष्कर्ष निकालिएको थियो ।
अन्तरक्रिया कार्यक्रमले स्थानीय तहमा सुशासन प्रवर्द्धन, जनचेतना अभिवृद्धि तथा भ्रष्टाचार नियन्त्रणप्रति सामूहिक प्रतिबद्धता अझ बलियो बनाएको छ ।





प्रतिक्रिया