बाजुरा ः बाजुराको बुढीगंगा नगरपालिका-३ का एक महिला वडा सदस्यको भीरबाट खसेको ढुंगाले लागेर मृत्यु भएको छ ।
मंगलबार साँझ करिब ५ः३० बजे बुढीगंगा नगरपालिका-३ ताप्राकी अन्दाजी ३७ वर्षीया कल्पना देवी थापा, जो सोही वडाकी महिला वडा सदस्य समेत हुन्, वडा नं. ६ स्थित फालासैन बजारबाट घर फर्किने क्रममा दुर्घटनामा परेकी हुन् ।
प्रहरीका अनुसार पैदल हिँडिरहेको समयमा माथिल्लो भिरबाट अचानक खसेको ढुंगाले लाग्दा उनी बाटोबाट करिब ५० मिटर तल सडकतर्फ खसेकी थिइन् ।
उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेश कुमार शाहीले जानकारी दिएका छन् ।
घटनाबारे स्थानीयबासीले टेलिफोन मार्फत जिल्ला प्रहरी कार्यालय बाजुराको कन्ट्रोल कक्षमा जानकारी गराएपछि तत्काल प्रहरी चौकी बार्जुगाडबाट प्रहरी सहायक निरीक्षक रामबहादुर ऐडीको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।
साथै जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप प्रहरी टोली पनि परिचालन गरिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।





प्रतिक्रिया