बाजुरा ः बाजुराको मौलिक भाषा, संस्कृति र जनजीवनलाई शब्द मार्फत उजागर गर्ने उद्देश्य सहित मुक्तककार वीर बहादुर बिष्टद्वारा लिखित बाजुराली खस भाषाको मुक्तक संग्रह “खण्सापका मुक्तकहरु” सार्वजनिक गरिएको छ ।
सुदूर साहित्य प्रतिष्ठान, बाजुराको आयोजनामा आइतबार दिउँसो १ बजे बडीमालिका नगरपालिका सभा हलमा आयोजित विशेष समारोहबीच कृतिको विमोचन गरिएको हो ।
स्थानीय भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने मूल उद्देश्य बोकेको उक्त कृतिमा बाजुराली खस भाषाका मौलिक भाव, ग्रामीण परिवेश, समाजका यथार्थ तथा सांस्कृतिक जीवनका विविध आयामलाई मुक्तक मार्फत सशक्त रूपमा प्रस्तुत गरिएको लेखक बिष्टले बताएका छन् ।
उनले आफ्नो जीवनका अनुभूति, संघर्ष र क्षणिक उपलब्धिहरुलाई शब्दमा रुपान्तरण गर्दै “खण्सापका मुक्तकहरु” सिर्जना गरिएको उल्लेख गरेका छन् । १०१ वटा मुक्तक समेटिएको उक्त संग्रहले बाजुराली खस भाषाको साहित्यिक सम्भावनालाई थप उचाइ दिने विश्वास गरिएको छ ।
विमोचन कार्यक्रममा मुक्तकको साहित्यिक पक्षमाथि वक्ताका रुपमा शुभराज पाध्याय, पुर रावत तथा नरेन्द्र थापाले विचार व्यक्त गर्दै कृतिलाई विम्ब, प्रतिविम्ब र यथार्थपरक चेतनाले भरिएको सिर्जना भएको बताएका थिए ।
सुदूर साहित्य प्रतिष्ठान, बाजुराका अध्यक्ष हर्क खडायतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बडीमलिका नगरपालिकाका उपप्रमुख नन्दा कुमारी थापा प्रमुख अतिथिका रुपमा सहभागी भएकी हुन् ।
कार्यक्रममा नेपाली काँग्रेस बाजुराका उपसभापति पदम बडुवाल, नेकपा (एमाले) जिल्ला कमिटी सचिव काँशी विक लगायत जिल्लाका साहित्यकार, सर्जक, बुद्धिजीवी, विद्यार्थी तथा साहित्यप्रेमीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन सचिव कृष्ण ओलीले गरेका थिए भने स्वागत मन्तव्य कोषाध्यक्ष रमित विकले व्यक्त गरेका थिए । वक्ताहरुले “खण्सापका मुक्तकहरु” लाई बाजुराली खस भाषाको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने सिर्जना भएको उल्लेख गर्दै यस्ता कृतिहरूले स्थानीय भाषाको अस्तित्व, पहिचान र साहित्यिक चेतनालाई दीर्घकालसम्म जीवन्त राख्ने विश्वास व्यक्त गरेका थिए ।






प्रतिक्रिया