गाैमुल खबर डटकम शनिबार २३, साउन २०८३ १२:३३

सरकारी-सार्वजनिक जग्गा अतिक्रमण हटाउन हिमाली गाउँपालिकाको कडा कदम

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, बैशाख २७, २०८३
सरकारी-सार्वजनिक जग्गा अतिक्रमण हटाउन हिमाली गाउँपालिकाको कडा कदम

बाजुरा ःहिमाली गाउँपालिकाले सरकारी तथा सार्वजनिक जग्गामा भइरहेको अतिक्रमण हटाउन कडा पहल थालेको छ । गाउँपालिकाले अतिक्रमण हटाउने अभियानलाई प्रभावकारी बनाउन सबै सरोकारवालासँग सहयोगको अपिल गर्दै वास्तविक सुकुम्बासीको पहिचान र व्यवस्थापनलाई समेत प्राथमिकतामा राखेको अध्यक्ष गोविन्द मल्लले बताएका छन् ।

गाउँपालिकाका अनुसार जिल्ला प्रशासन कार्यालय बाजुराको चलानी नम्बर १६४३, मिति २०८३ वैशाख २२ गते प्राप्त पत्र तथा नेपाल सरकारद्वारा स्वीकृत शासकीय सुधार सम्बन्धी १०० कार्यसूची अन्तर्गत बुँदा नम्बर ९२ बमोजिम सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने अभियानलाई तीव्र बनाइएको हो ।

गाउँपालिकाले आफ्नो कार्यक्षेत्रभित्र सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बसोबास गरिरहेका घरपरिवारको तथ्यगत विवरण संकलन गर्न थालेको जनाएको छ । यस क्रममा वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरुको उचित व्यवस्थापन गरिने उल्लेख गरिएको छ ।

सूचनामा वास्तविक सुकुम्बासीका लागि सुरक्षित आवास, स्वस्थ खानपान, गोपनीयताको संरक्षण, औषधि उपचार, परामर्श सेवा, महिला तथा अपाङ्गमैत्री आवास कक्ष तथा आवश्यक सुरक्षा प्रबन्ध सहितको योजना तयार गरिने उल्लेख छ ।

गाउँपालिकाले यस्तो व्यवस्थापनका लागि सम्बन्धित पक्षलाई समन्वय र सहकार्य गर्न आग्रह गरेको छ । त्यस्तै, सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमणमुक्त बनाउने अभियानलाई सफल बनाउन स्थानीयबासी, जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय तथा सरोकारवाला निकायको सक्रिय भूमिका आवश्यक रहेको गाउँपालिकाको भनाइ छ ।

गाउँपालिकाले आवश्यक व्यवस्थापन तथा सुरक्षा समन्वयका लागि गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ । सरकारी सम्पत्तिको संरक्षण र सार्वजनिक उपयोगको सुनिश्चितताका लागि अब अतिक्रमण विरुद्ध कडा कदम चालिने संकेत गाउँपालिकाले दिएको छ ।
 

प्रतिक्रिया