गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ ०१:०८

सुरक्षामा ट्राफिकको सक्रियता : बाजुरामा दुर्घटना न्यूनीकरणतर्फ सकारात्मक संकेत, ५ सय ३२ सवारी कारबाहीमा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, बैशाख २६, २०८३
सुरक्षामा ट्राफिकको सक्रियता : बाजुरामा दुर्घटना न्यूनीकरणतर्फ सकारात्मक संकेत, ५ सय ३२ सवारी कारबाहीमा

बाजुरा ःहिमाली जिल्ला बाजुरामा ट्राफिक व्यवस्थापन र सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीले सक्रियता बढाएको छ । आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म जिल्लामा भएका सडक दुर्घटनामा ३७ जना प्रभावित भएका छन् भने १० जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मार्तडी, बाजुराका प्रहरी सहायक निरीक्षक धनीदत्त जोशीका अनुसार घाइते हुने मध्ये ४ जना पुरुष, २ जना महिला र ४ जना बालबालिका रहेका छन् । दुर्घटना न्यूनीकरण तथा सडक अनुशासन कायम गर्न ट्राफिक प्रहरी निरन्तर खटिएको उनले बताएका छन् ।

त्यसैगरी, ट्राफिक नियम उल्लंघन गर्ने ५ सय ३२ जना चालक तथा सवारी साधनलाई कारबाही गरिएको जानकारी दिँदै जोशीले बाजुरामा अन्य तराईका जिल्लाको तुलनामा सवारी कारबाहीको संख्या कम रहेको बताए ।

उनले जिल्लाबासीमा ट्राफिक सचेतना क्रमशः बढ्दै गएको र अधिकांश चालक नियम पालना गर्नेतर्फ अग्रसर देखिएको उल्लेख गरे । “हामी जनताको सुरक्षाका लागि २४ घण्टा सडकमा खटिरहेका छौं । यात्रु र चालक स्वयं पनि सचेत बने दुर्घटना अझै कम गर्न सकिन्छ,” प्रहरी सहायक निरीक्षक जोशीले भने ।

बाजुराका ग्रामीण तथा दुर्गम सडकमा जोखिम बढी हुने भएपनि ट्राफिक प्रहरीको नियमित चेकजाँच, सचेतनामूलक कार्यक्रम र चालकहरुको जिम्मेवारीपूर्ण व्यवहारका कारण पछिल्लो समय दुर्घटना नियन्त्रणमा सकारात्मक सुधार देखिन थालेको स्थानीयबासी बताउँछन् ।

सडक सुरक्षालाई थप प्रभावकारी बनाउन विद्यालय, सार्वजनिक यातायात तथा स्थानीय तहसँग समन्वय गरी ट्राफिक सचेतना अभियान सञ्चालन गर्न आवश्यक रहेको छ । ट्राफिक नियम पालनाले यात्रालाई सुरक्षित, सहज र व्यवस्थित बनाउने भएकाले सबै नागरिक जिम्मेवार बन्न आवश्यक रहेको छ ।
 

प्रतिक्रिया