बाजुरा ःगौमुल गाउँपालिकामा कृषि विकास शाखाको आयोजनामा बृहत् कृषि जैविक विविधता तथा कृषि मेला कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
स्थानीय सरकारले केही गरेन भन्ने भाष्यलाई चिर्दै गाउँपालिकाले कृषक, संस्कृति र स्थानीय उत्पादन प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गरिरहेको सन्देश मेलाले दिएको छ ।
उपाध्यक्ष सीता थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, स्थानीय कृषक, महिला समूह, युवा तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।
मेलामा वडा स्तरीय डेउडा प्रतियोगिता, भुवा चाली प्रदर्शन, कीर्तिचौर माविका विद्यार्थीहरुको आकर्षक नृत्य प्रस्तुति लगायत सांस्कृतिक कार्यक्रमले विशेष रौनक थपेको थियो ।

त्यसैगरी कृषि जैविक विविधतातर्फ उत्कृष्ट कृषक समूहलाई पुरस्कार वितरण गरिएको थियो भने कृषि उपजतर्फ ७ वटा विधामा उत्कृष्ट कृषकलाई कृषि सामग्री प्रदान गरिएको कृषि शाखा प्रमुख दीपेन्द्र सार्कीले बताएका छन् ।
कार्यक्रमले स्थानीय बीउबिजन संरक्षण, परम्परागत कृषि प्रणालीको प्रवद्र्धन, जैविक विविधताको संरक्षण तथा कृषकको उत्साह अभिवृद्धिमा टेवा पुगेको सहभागीहरुले बताएका छन् ।
स्थानीय तह जनताको नजिकको सरकार भएकाले गौमुल गाउँपालिकाले कृषकको हित, स्थानीय कला-संस्कृति संरक्षण र उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको छ ।
“गौमुल सरकार जनताको साथमा छ, र जनता स्थानीय सरकारको साथमा छन्” भन्ने सन्देश यस मेलामार्फत थप बलियो बनेको स्थानीयबासीको प्रतिक्रिया रहेको छ ।





प्रतिक्रिया