गाैमुल खबर डटकम शनिबार २३, साउन २०८३ ०१:४२

बुढीगंगामा प्रमुख प्रशासकीय अधिकृत नआएको विषयमा नगर प्रमुखको स्पष्टिकरण : ‘जनप्रतिनिधिका कारण होइन, संघीय व्यवस्थाकै समस्या’

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, बैशाख २५, २०८३
बुढीगंगामा प्रमुख प्रशासकीय अधिकृत नआएको विषयमा नगर प्रमुखको स्पष्टिकरण : ‘जनप्रतिनिधिका कारण होइन, संघीय व्यवस्थाकै समस्या’

बाजुरा ः बुढीगंगा नगरपालिकामा पछिल्लो पाँच महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा सामाजिक सञ्जालमा फैलाइएका भ्रमपूर्ण टिप्पणीप्रति नगर प्रमुख रामबहादुर बाँनियाले स्पष्टिकरण दिएका छन् । उनले जनप्रतिनिधिका कारण अधिकृत नटिकेको भन्ने प्रचार तथ्यहीन रहेको बताएका छन् ।

नगर प्रमुख बाँनियाले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको धारणा अनुसार, बुढीगंगामा यति लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृत नहुनु पहिलो पटक भएको उल्लेख गर्दै यस अवस्थाले आफूहरुलाई समेत समस्या परेको बताएका छन् ।

उनका अनुसार, मंसिर महिनामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत अमरराज जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्षकै बीचमा बिना पूर्वजानकारी सरुवा गरेको थियो ।

त्यसपछि मन्त्रालयले पुस १४ गते भोजबहादुर ऐडीलाई नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको भएपनि उनले फागुन १४ गते मात्रै पालिकामा हाजिर भएर तीन दिन बसेपछि उपसचिवको नियुक्तिपत्र बुझ्न जाने भन्दै फर्किएको नगर प्रमुखको भनाइ रहेको छ ।

नगर प्रमुख बाँनियाका अनुसार, मन्त्रालयले पछि उपसचिव पदस्थापनमा पनि बुढीगंगा नै कायम गरेको थियो । तर ऐडीले आफू दुर्गम क्षेत्रबाट आएको कर्मचारी भएको, फेरि दुर्गममै पठाइएको तथा स्वास्थ्य अवस्थाका कारण जान नसक्ने जनाउँदै करिब तीन महिनापछि राजीनामा दिएका थिए ।

नगर प्रमुख बाँनियाले कर्मचारीलाई राज्यले खटाएको स्थानमा गएर जिम्मेवारी निर्वाह गर्नका लागि तलब दिने व्यवस्था रहेको उल्लेख गर्दै कर्मचारी स्वयं नआउने अवस्थालाई जनप्रतिनिधिसँग जोडेर भ्रम फैलाउनु गलत भएको बताएका छन् ।

उनले नयाँ प्रमुख प्रशासकीय अधिकृत ल्याउन विभिन्न प्रयास गरिएको तर सफल हुन नसकेपछि आफूहरुले धर्ना समेत दिने चेतावनी दिएपछि मात्रै नयाँ अधिकृत पठाउने निर्णय भएको जानकारी दिएका छन् ।

नगर प्रमुख बाँनियाले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत संघीय सरकार अन्तर्गतका कर्मचारी हुने व्यवस्था भएकाले सम्बन्धित कर्मचारी संघीय सरकारले नै पठाउनुपर्ने स्पष्ट पारेका छन् ।

उनले सामाजिक सञ्जालमा तथ्यहीन र भ्रामक सामग्री फैलाउने प्रवृत्ति बढ्दै गएको भन्दै सत्य, तथ्य र जिम्मेवारीमा आधारित भएर मात्रै विश्लेषण गर्न सबैलाई आग्रह गरेका छन् ।

उनले समाजमा नकारात्मक प्रचार भन्दा तथ्यमा आधारित बहस र जिम्मेवार अभिव्यक्तिले मात्रै समग्र विकासमा योगदान पुग्ने धारणा व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया