गाैमुल खबर डटकम शनिबार २३, साउन २०८३ १२:३४

५ महिनापछि बुढीगंगामा प्रशासकीय अधिकृत नियुक्त, तारादत्त भट्ट खटाइए

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, बैशाख २३, २०८३
५ महिनापछि बुढीगंगामा प्रशासकीय अधिकृत नियुक्त, तारादत्त भट्ट खटाइए

बाजुरा ः सरकारले लामो समयदेखि रिक्त रहेको बुढीगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा अन्ततः कर्मचारी खटाएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृत तहका तारादत्त भट्टलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारी दिँदै बुढीगंगामा पठाएको जनाएको छ।

पाँच महिनादेखि प्रशासकीय अधिकृत विहीन रहँदा नगरपालिकाको दैनिक कामकाज प्रभावित बनेको थियो। योजना स्वीकृति, बजेट निकासा, कर्मचारीको तलब भत्ता वितरण तथा सिफारिसजस्ता अत्यावश्यक सेवा प्रवाहमा ढिलाइ हुँदै आएको थियो भने विकास योजनासमेत ठप्प जस्तै बनेका थिए।

यसअघि सरकारले भोजबहादुर ऐडीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको थियो। तर उनले दुई दिन मात्रै हाजिर भएर फर्किएका थिए। उपसचिवमा बढुवा भएसँगै बाजुरा जान अनिच्छा देखाउँदै उनले अन्ततः राजीनामा दिएका थिए।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको समग्र प्रशासनिक तथा आर्थिक गतिविधि अवरुद्ध भएपछि नगर प्रमुख रामबहादुर बाँनिया मन्त्रालय धाउन पुगेका थिए। उनले समस्या समाधान नभए आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए।

यसबीच, पालिकामा प्रशासकीय अधिकृत नबस्नुको कारण जनप्रतिनिधि र कर्मचारीबीच असमझदारी रहेको हल्ला चले पनि नगर प्रमुख बाँनियाले त्यस्तो कुनै आन्तरिक समस्या नरहेको स्पष्ट पारेका छन्। नयाँ प्रमुख प्रशासकीय अधिकृत भट्टको आगमनसँगै अब नगरपालिकाको सेवा प्रवाह र विकास निर्माणका कामहरू सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया