बाजुरा ः गौमुल गाउँपालिका-४ कालादहस्थित कीर्तिचौर माध्यमिक विद्यालयले आधारभूत तहमा अंग्रेजी माध्यमबाट पठन-पाठन सञ्चालन गर्ने ऐतिहासिक कदम चाल्दै औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमसँगै भोलिदेखि नियमित कक्षा सञ्चालन हुने गरी विद्यालयले नयाँ शैक्षिक यात्राको सुरुवात गरेको जनाएको छ ।
उद्घाटन समारोहमा विद्यालयका शिक्षकहरुको समर्पण र योगदानको उच्च कदर गर्दै खादा, माला तथा टीका लगाएर सम्मान गरिएको थियो । लामो समयदेखि विद्यालयको उन्नतिका लागि अहोरात्र खटिँदै आएका गुरुहरूको सम्मानले कार्यक्रममा विशेष भावनात्मक माहोल सिर्जना गरेको थियो ।
कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष कलकबहादुर सिंह, ६ का वडा अध्यक्ष प्रकाश रोकाया, ३ का वडा अध्यक्ष गोरख बोहरा, अभिभावक, बुद्धिजीवी तथा स्थानीयबासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । उपस्थित सबै महानुभावप्रति विद्यालय परिवारले हार्दिक आभार व्यक्त गरेको छ ।
वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर विकले अंग्रेजी माध्यमको सुरुवातसँगै चुनौतीहरु थपिने स्वीकार गर्दै सामूहिक प्रयासबाट ती चुनौती पार गरिने दृढता व्यक्त गरेका छन् ।
उनले भने, “हामीसँग सीमित स्रोत-साधन भएपनि जनताको साथ, शिक्षकहरुको समर्पण र हाम्रो दृढ इच्छाशक्ति नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो । यस अभियानलाई सफल बनाउन सबैको साथ अपरिहार्य छ ।” गाउँमै अंग्रेजी माध्यमबाट शिक्षा सुरु भएसँगै स्थानीय अभिभावकहरु अत्यन्त उत्साहित भएका छन् ।
अब आफ्ना बालबालिकालाई गुणस्तरीय शिक्षाका लागि टाढा पठाउनुपर्ने बाध्यता कम हुने विश्वास उनीहरूले व्यक्त गरेका छन् । यस कदमले ग्रामीण क्षेत्रमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने दिशामा महत्वपूर्ण उपलब्धि हासिल गरेको स्थानीयहरुको भनाइ छ ।
स्थानीयबासीहरुले वडा अध्यक्ष अमर विकको नेतृत्वप्रति विश्वास व्यक्त गर्दै यस अभियानलाई सफल बनाउन पूर्ण साथ दिने प्रतिबद्धता जनाएका छन् । शिक्षा सुधारको यो प्रयासले गाउँको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
अंग्रेजी माध्यमको पठन-पाठनसँगै कीर्तिचौर माध्यमिक विद्यालयले शिक्षा क्षेत्रमा नयाँ उदाहरण प्रस्तुत गरेको छ । अब यस अभियानलाई दिगो, प्रभावकारी र परिणाममुखी बनाउन समुदाय, विद्यालय र जनप्रतिनिधिबीचको सहकार्य अझ मजबुत हुने देखिन्छ ।






प्रतिक्रिया