गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:४२

दुर्गम वडामा घरदैलोमै स्वास्थ्य सेवा : स्थानीयद्वारा वडा सरकारलाई धन्यवाद

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, बैशाख १४, २०८३
दुर्गम वडामा घरदैलोमै स्वास्थ्य सेवा : स्थानीयद्वारा वडा सरकारलाई धन्यवाद

बाजुरा ःगौमुल गाउँपालिका-१ नम्बर वडा कार्यालय अम्लिसको समन्वय र जिल्ला स्वास्थ्य कार्यालय बाजुराको आयोजनामा घाटीभन्दा माथिका अंगहरु मुख, दाँत, जिब्रो लगायतका समस्याको उपचारका लागि एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त शिविरबाट कुल १ सय ५० जनाले सेवा लिएका छन् । वडा अध्यक्ष देवेन्द्र बहादुर रोकायाका अनुसार शिविरमा ८७ जना महिला, १७ जना बालबालिका र ४६ जना पुरुषले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयबाट खटिएको अनुभवी स्वास्थ्यकर्मीहरुको टोलीले स्थानीय बासिन्दाको स्वास्थ्य जाँच, परामर्श तथा आवश्यक औषधि वितरण गरेको थियो । भौगोलिक विकटता र स्वास्थ्य सेवामा सहज पहुँचको अभावका कारण सामान्य उपचारका लागि समेत टाढा धाउनुपर्ने बाध्यता झेल्दै आएका स्थानीयका लागि यो शिविर निकै फलदायी सावित भएको छ ।

शिविर मार्फत घरदैलोमै सेवा पाउँदा समय र खर्च दुवैको बचत भएको भन्दै स्थानीय नागरिकले खुसी व्यक्त गरेका छन् । स्थानीय बासिन्दाहरुले यस्तो सेवा गाउँमै उपलब्ध गराएकोमा वडा सरकारप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्न माग गरेका छन् ।

उनीहरुका अनुसार यस्ता शिविरहरुले स्वास्थ्य सचेतना बढाउनुका साथै समयमै रोग पहिचान र उपचारमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । वडा कार्यालयले दुर्गम बस्तीमा बसोबास गर्ने नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको छ । आगामी दिनमा पनि अन्य स्वास्थ्य सेवासम्बन्धी कार्यक्रमहरु विस्तार गर्दै लैजाने योजना रहेको छ ।

प्रतिक्रिया