गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:२९

युवासँग हातेमालो गर्दै समृद्धिको बाटोमा वडा नं. ४-अध्यक्ष अमर विकको अग्रसरतामा बृहत् युवा सम्मेलन हुँदै

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, बैशाख १३, २०८३
युवासँग हातेमालो गर्दै समृद्धिको बाटोमा वडा नं. ४-अध्यक्ष अमर विकको अग्रसरतामा बृहत् युवा सम्मेलन हुँदै

बाजुरा ः गौमुल गाउँपालिका-४ ले युवालाई केन्द्रमा राखेर समृद्ध र सचेत समाज निर्माणको स्पष्ट सन्देश दिएको छ। वडाध्यक्ष अमर विकको सक्रिय नेतृत्वमा आइतबार निलासैनस्थित वडा कार्यालयमा “देशको सुन्दर भविष्य बोकेका आजका युवाहरु” भन्ने मूल नारा सहित बृहत् युवा सम्मेलन तथा जनचेतनामूलक सांस्कृतिक कार्यक्रम आयोजना हुँदैछ।

माउण्टेन भिजन युवा क्लबको आयोजनामा हुन लागेको उक्त कार्यक्रम गौमुल गाउँपालिका, वडा नं. ४ कार्यालय, पीसविन नेपाल, एच.आर.सी. बाजुरा र सहकर्मी समाजको सहकार्यमा सञ्चालन गरिनेछ। कार्यक्रममार्फत युवाहरुको क्षमता अभिवृद्धि, नेतृत्व विकास र सामाजिक रूपान्तरणमा उनीहरूको भूमिकालाई थप सशक्त बनाउने लक्ष्य राखिएको छ।

वडाध्यक्ष अमर विकले सामाजिक सञ्जाल मार्फत सम्पूर्ण वडावासीलाई कार्यक्रममा सहभागिता जनाउन हार्दिक आह्वान गर्दै युवाको ऊर्जा र सिर्जनशीलतालाई सही दिशामा परिचालन गर्नु नै समृद्ध वडाको आधार भएको उल्लेख गरेका छन्। “युवा नै परिवर्तनका संवाहक हुन्, उनीहरुलाई अवसर र प्लेटफर्म दिनु वडा सरकारको पहिलो प्राथमिकता हो,” उनले बताएका छन्।

स्थानीय युवाहरुमा यस कार्यक्रमप्रति उच्च उत्साह देखिएको छ। वडाले युवाको आवाज सुन्ने, उनीहरुको समस्या समाधानमा अग्रसर हुने र अवसर सिर्जना गर्ने प्रतिबद्धता देखाएको भन्दै युवाहरु वडाध्यक्ष विकको नेतृत्वप्रति सकारात्मक देखिएका छन्।

यस किसिमका कार्यक्रमहरुले वडा सरकार युवामैत्री र विकासमुखी रहेको स्पष्ट पार्नुका साथै स्थानीय तह र युवाबीचको सम्बन्ध अझ मजबुत बनाउने विश्वास लिइएको छ। कार्यक्रममा वडाबासी, युवा, बुद्धिजीवी तथा सरोकारवाला निकायको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रतिक्रिया