गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:४२

ऋण असुलीमा कडाइ : अन्तिम सूचना नटेर्ने ऋणीमाथि कानुनी कारबाही अघि बढ्ने

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, बैशाख ११, २०८३
ऋण असुलीमा कडाइ : अन्तिम सूचना नटेर्ने ऋणीमाथि कानुनी कारबाही अघि बढ्ने

बाजुरा ःगौमुल गाउँपालिका-६ टाँडाकोट टुनी स्थित कोपिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ऋण असुली प्रक्रिया कडाइका साथ अघि बढाउने निर्णय गरेको छ ।

सहकारीको हालै बसेको सर्वपक्षीय बैठकले ऋणीहरूको विवरण संकलनदेखि कानुनी कारबाहीसम्मका महत्वपूर्ण निर्णयहरू सर्वसम्मत रुपमा पारित गरेको हो ।

बैठकले सबैभन्दा पहिले संस्थासँग ऋण लिएका सदस्यहरुको अद्यावधिक सूची तयार गर्ने निर्णय गरेको छ । त्यसपछि सम्बन्धित ऋणीहरूलाई अन्तिम पटक ऋण चुक्ता गर्न औपचारिक सूचना दिने सहमति जुटाइएको छ ।

सहकारीका अध्यक्ष रमित विकका अनुसार यो सूचना ऋणीहरूलाई आफ्नो दायित्व पूरा गर्न अन्तिम अवसरका रुपमा प्रदान गरिने भएको छ । यदि उक्त अन्तिम सूचनापछि पनि ऋणीहरूले बेवास्ता गरेमा भने नेपाल सरकारको प्रचलित कानुन तथा सहकारी ऐन बमोजिम कानुनी प्रक्रिया अघि बढाइने निर्णय गरिएको छ ।

यसले ऋण असुलीलाई प्रभावकारी बनाउने र सहकारीको आर्थिक अनुशासन कायम गर्ने विश्वास लिइएको छ । अध्यक्ष रमित विकको नेतृत्वमा बसेको उक्त बैठकमा वडा सदस्य कलक चदाँरा, पूर्व वडा सदस्य प्रेम विक, सञ्चालक समिति, स्थानीय अगुवा तथा शेयर सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

व्यापक छलफलपछि लिइएको यस निर्णयले सहकारीभित्रको वित्तीय पारदर्शिता र उत्तरदायित्व अझ मजबुत हुने अपेक्षा गरिएको सचिव तिलक विकले जानकारी दिएका छन् ।

सहकारीका पदाधिकारीहरुले ऋणीहरूलाई समयमै ऋण चुक्ता गरी थप कानुनी झन्झटबाट जोगिन आग्रह गरेका छन् । समयमै असुली हुन सकेमा बचतकर्ताहरुको विश्वास अझ सुदृढ हुने र सहकारीको सेवा विस्तारमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिएको छ ।
 

प्रतिक्रिया