गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ ०१:०७

औषधि भन्दा ठूलो मुस्कान : बाजुरामा डाक्टर शिरीष श्रेष्ठले बिरामीको मन जित्दै

बाजुरा
रमित वि.क.
सोमबार, बैशाख ०७, २०८३
औषधि भन्दा ठूलो मुस्कान : बाजुरामा डाक्टर शिरीष श्रेष्ठले बिरामीको मन जित्दै

बाजुरा ः दुर्गम पहाडी जिल्ला बाजुरामा स्वास्थ्य सेवा पाउनु अझै पनि धेरैका लागि चुनौतीपूर्ण छ । सडक, स्रोत साधन र विशेषज्ञ जनशक्तिको अभावबीच यहाँका नागरिकका लागि अस्पताल केवल उपचार गर्ने ठाउँ मात्र होइन, आशा र भरोसाको केन्द्र पनि हो । यहीँ आशालाई जीवन्त बनाइरहेका छन्, जिल्ला अस्पताल बाजुरामा कार्यरत हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर शिरीष श्रेष्ठ ।

अस्पतालको सामान्य दिन भीड, पीडाले कराएका बिरामी, उपचारको पर्खाइमा बसेका आफन्त । तर, यिनै दृश्यबीच एउटा फरक ऊर्जा महसुस हुन्छ, जहाँ डाक्टर श्रेष्ठको मुस्कान र मधुर बोलीले वातावरण नै परिवर्तन गरिदिन्छ । बिरामीहरू भन्छन्, “उहाँको मुस्कान नै आधा उपचार हो ।”

गौमुल गाउँपालिका-६ टुनीका बजिरे विक, जो हाडजोर्नी समस्याबाट पीडित थिए, अहिले निकै सुधार महसुस गरिरहेका छन् । उनी भन्छन्, “पहिला अस्पताल आउँदा डर लाग्थ्यो, तर डाक्टर सरले जसरी सम्झाएर, हौसला दिएर उपचार गर्नुहुन्छ, आधा रोग त त्यत्तिकै हराउँछ जस्तो लाग्छ । उहाँसँग बोल्दा नै आत्मविश्वास बढ्छ ।”

त्रिवेणी नगरपालिकाका बिनोद मिजार पनि डाक्टर श्रेष्ठको सेवाबाट प्रभावित छन् । “उहाँ बिरामीलाई केवल औषधि दिनुहुन्न, मनोबल पनि दिनुहुन्छ । हामीलाई लाग्छ हामी एक्ला छैनौं, हाम्रो स्वास्थ्यको ख्याल गर्ने कोही छ,” उनी भन्छन् ।

जगन्नाथ गाउँपालिकाकी विष्णु ढोलीको अनुभव झन् गहिरो छ । उनी भन्छिन्, “गाउँबाट अस्पताल आउँदा धेरै डर लाग्थ्यो, तर उहाँले आफ्नै परिवारको सदस्य जस्तो व्यवहार गर्नुहुन्छ । मुस्कान सहित बोल्नुहुन्छ, विस्तारै सबै कुरा बुझाउनुहुन्छ, त्यसैले अब निको हुन्छु भन्ने विश्वास पलाएको छ ।” डाक्टर श्रेष्ठको विशेषता केवल उनको विशेषज्ञता मात्र होइन, बिरामीसँग गर्ने व्यवहार हो ।

व्यस्त समयतालिका हुँदाहुँदै पनि उनी हरेक बिरामीको कुरा ध्यानपूर्वक सुन्छन्, समस्याको जड बुझ्न खोज्छन् र उपचारसँगै मनोबल बढाउने प्रयास गर्छन् । उनको यहीँ शैलीले अस्पताल प्रतिको विश्वास बढाएको छ र धेरै बिरामीको अनुहारमा आशाको उज्यालो देखिन थालेको छ ।

स्वास्थ्य सेवा क्षेत्रमा प्राविधिक दक्षता जति महत्वपूर्ण छ, त्यत्तिकै मानवीय संवेदना पनि आवश्यक हुन्छ भन्ने ज्वलन्त उदाहरण बनेका छन् डाक्टर श्रेष्ठ । दुर्गम जिल्ला बाजुरामा यस्तो सेवा भाव भएका विशेषज्ञ चिकित्सकको उपस्थिति स्थानीयका लागि ठूलो राहत र गर्वको विषय बनेको छ ।

तर, यस्ता समर्पित जनशक्तिलाई लामो समयसम्म टिकाइराख्नु राज्यका लागि चुनौतीपूर्ण बन्दै गएको छ । आवश्यक सुविधा, प्रोत्साहन र काम गर्ने सहज वातावरणको अभावले धेरै चिकित्सक दुर्गम क्षेत्र छाड्न बाध्य हुने गरेका छन् । स्थानीयबासीहरुको एउटै आवाज छ “डाक्टर श्रेष्ठ जस्ता चिकित्सकलाई जोगाउनुपर्छ, सम्मान गर्नुपर्छ ।

उहाँहरु रहे मात्र हामी जस्ता गाउँका बिरामीले गुणस्तरीय सेवा पाउन सक्छौं ।” स्वास्थ्य सेवा केवल रोग निको पार्ने प्रक्रिया मात्र होइन, बिरामीको मन जित्ने यात्रा पनि हो भन्ने सन्देश डाक्टर श्रेष्ठले व्यवहारमै देखाइरहेका छन् । उनको मुस्कान, सहानुभूति र समर्पणले बाजुराका धेरै बिरामीको जीवनमा नयाँ आशा जगाएको छ ।

अब आवश्यकता छ यस्तो समर्पणलाई कदर गर्ने, यस्ता चिकित्सकलाई टिकाइराख्ने र अझै राम्रो सेवा दिन प्रेरित गर्ने नीतिगत पहलको । किनकी, जब एउटा डाक्टर केवल चिकित्सक नभएर भरोसाको आधार बन्छ, तब स्वास्थ्य सेवा साँच्चिकै प्रभावकारी हुन्छ ।

प्रतिक्रिया