गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:२९

सामाजिक रुपान्तरणको इमानदार प्रयास

बाजुरा
चम्फासिंह भण्डारी
आइतबार, बैशाख ०६, २०८३
सामाजिक रुपान्तरणको इमानदार प्रयास

कुनै पनि सामूहिक काम गर्नका लागि एउटा कुशल अगुवा चाहिन्छ । असल र गतिशील नेतृत्वबिना कुनै पनि काम सम्पन्न गर्न गाह्रो हुन्छ । नेतृत्वको विकास अनौपचारिक र औपचारिक रूपमा स्थापित भएको पाइन्छ । अगुवाले नै अरूलाई आफूसँगसँगै डोर्याएर लैजाने हुँदा नेतृत्व आफैँ नेतृत्व प्रदान गर्न सक्ने क्षमतावान् हुनुपर्छ ।

स्थानीय सरकारमा निर्वाचित भएर आउने नेताहरु आम नागरिकहरुप्रति जवाफदेही र उत्तरदायी बन्नका लागि आफ्नो क्षमता विकास र अध्ययन विश्लेषण गर्ने बानीको विकास आवश्यक छ । निर्वाचित हुने वित्तिकै आफ्नो भूमिकामा आउने परिवर्तन, आफ्नो अनुभव, क्षमताको पूर्ण उपयोग र टिममा काम गर्न सक्ने क्षमताको विकास आवश्यक छ ।

जनप्रतिनिधिहरु र कर्मचारीहरूको बीचमा आवश्यक समन्वय र सहकार्य गर्ने, एकअर्कामा विश्वासको वातावरण निर्माण गर्ने सवालमा निर्वाचित नेतृत्वले ध्यान दिनुपर्छ । सुदूरपश्चिम प्रदेशको दुर्गम बाजुरा जिल्लाको गौमुल गाउँपालिका बाजुराले गरेका असल अभ्यासहरुलाई सरसर्ती हेर्दा उक्त गाउँपालिका देशकै नमुना गाउँपालिकाभन्दा फरक पर्दैन ।

यस पटकको स्थानीय निर्वाचनमा अध्यक्ष हरिबहादुर रोकाया र उपाध्यक्ष सीता रोकाया (थापा) दोस्रो पटक निर्वाचित भई काम गरिरहेका छन् । गौमुल गाउँ कार्यपालिकाको टिम र प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद भट्टको नेतृत्वमा रहेको कर्मचारीको टिमले पालिकामा प्राप्त भएको स्रोत साधनहरूको अधिकतम प्रयोग गरी त्यहाँको आम नागरिकहरुको जीवन सहज बनाई सामाजिक रूपान्तरण अभियान मार्फत विकास प्रयासहरुलाई दिगो बनाउनका लागि निरन्तर प्रयास जारी रहेका छ ।

गौमुल पालिकाका प्रमुख गतिविधिहरु 

आवधिक योजना २०७५ देखि २०७९ सम्मको पाँचवर्षे आवधिक योजना निर्माण गरी सोही अनुरुप आफ्ना क्रियाकलाप अघि बढाइरहेको छ भने यो आवधिक  योजनाको पुनरवलोकन गरी आर्थिक वर्ष २०८०-८१ देखि २०८४-८५ सम्मको आवधिक योजना पुनरवलोकनको चरणमा रहेको छ । गाउँपालिकाको समष्टिगत लक्ष्यमा एकीकृत तथा दिगो विकासको माध्यमबाट गाउँपालिकावासीहरुको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने, विकासको लक्ष्यमा दिगो समावेशी विकास, सरकारी निजी साझेदारी र अनसहभागितामा आधारित विकास, अन्तर्निर्भरतामुखी विकास प्रक्रिया, संस्थागत सुशासन, जिम्मेवारी बोध र सामाजिक जवाफदेहिता, उत्पादनमूलक तथा विकासमैत्री पूर्वाधार निर्माण, उत्पादनमूलक तथा वातावरणमैत्री पूर्वाधार विकास, बालमैत्री तथा अपाङ्गमैत्री पूर्वाधार निर्माण गर्दै नतिजामूलक अनुगमन तथा मूल्याङ्कन रहेको छ ।

गौमुल गाउँपालिका परिचय 

गौमुल गाउँपालिकाको नाम धार्मिक तथा पर्यटकीय स्थल बुढीगंगा नदीको मुहानसँग  जोडिएको छ । बुढीगंगाको उद्गम स्थलमा गाईको मुख जस्तोबाट पानी आउने मुहान भएकाले त्यस ठाउँको नाम गौमुल राखिएको र त्यहीँ नामबाट गाउँपालिकाको नामकरण गरिएको हो । समुद्री सतहदेखि १३६० मिटर देखि ५४४० मिसम्म फैलिएको छ । यस गाउँपालिकाको अधिकांश भूभाग उच्च पहाडी र हिमाली क्षेत्रभित्र पर्छ ।

यस गाउँपालिकामा वनजङ्गलले ३७ प्रतिशत भूभाग ओगटेको छ । घाँसे भूभाग २३.९२ प्रतिशत, बुट्यान १९ प्रतिशत र बाँझो उजाड भूभागले पनि १२.६२ प्रतिशत ओगटेको छ । गाउँपालिकामा पूर्वमा बुढीनन्दा नगरपालिका, पश्चिममा खप्तड छेडेदह गाउँपालिका उत्तरमा बझाङ  जिल्ला र दक्षिणमा बडीमालिका नगरपालिकाको सिमाना रहेको छ ।

मुख्य राजनीतिक दलहरुमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा र राप्रपा रहेको छ भने यहाँका प्रमुख बालीहरुमा जौ, कोदो, धान, फापर, चिनो, कागुनो, आलु, पिँडालु, गहुँ मार्सी, भटमास, सिमी, गहत रहेका छन् । मुख्य फलफुलहरुमा सुन्तला, स्याउ, केरा, आरू, नास्पाती, काफल, ऐँसेलु, त्रिफला, किवी र कागती रहेका छन् ।

गौमुल गाउँपालिकामा जम्मा एक हजार १५६ जना रोजगारीमा रहेका छन् भने पछिल्लो वर्ष एक हजार ३२१ जनाले रोजगारीका लागि पालिकामा नाम दर्ता गरेका छन् । गाउँपालिकामा जम्मा १९७ व्यवसाय दर्ता भई सञ्चालनमा  छन् भने ६३१ जना उच्च शिक्षा हाँसिल गरेका र ११६ जना प्राविधिक शिक्षा हासिल गरेका छन् ।

गाउँपालिकामा विशेष गरी ग्यास्ट्रिक, ज्वरो, बाथ, झाडापखाला जस्ता  रोग देखापरेका छन् । गाउँपालिकामा ६५ प्रतिशत घरधुरी ६ महिनाभन्दा कम खान पुग्ने रहेका छन् ।  एक हजार ५८१ परिवार पशुपालनमा संलग्न रहेका  छन् । पालिकामा जम्मा पशु सङ्ख्या २७ हजार ७८४ रहेका छन् ।

एक हजार ७२८ जना हालसम्म सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् । ६ वटा माध्यमिक विद्यालय, १७ वटा आधारभूत विद्यालय र ५ बाल कक्षा रहेका छन् । पालिकामा १५३ जना शिक्षा ५४ स्वास्थ्य र ५० अन्य क्षेत्रमा गरी जम्मा २ सय ५७ जना कर्मचारीहरू रहेका छन् ।

विकास निर्माणमा गौमुल गाउँपालिकामा गरिएका विकास प्रयासहरु

गौमुल गाउँपालिकाका प्रशासकीय अधिकृत जगदीशप्रसाद भट्टका अनुसार गौमुल गाउँपालिकाको प्रशासकीय भवन निर्माण भई सेवा प्रवाह गरिरहेको छ । ६ वडामध्ये ५ वटा वडाको कार्यालय भवन निर्माण भई सेवा दिइरहेका छन् । ३ वटा सामुदायिक स्वास्थ्य संस्था र ९ वटा बर्थिङ सेन्टर निर्माण भई काम गरिरहेका छन् ।

मानाकोटमा स्वास्थ्यचौकी निर्माण भई सेवा सुचारु भएको छ । १० शैया अस्पताल सञ्चालनको चरणमा रहेको छ । सरकारले दिने ९८ प्रकारका औषधी सहित ११० प्रकारका औषधी निःशुल्क वितरण गरिरहेको छ । स्वास्थ्यकर्मीहरुलाई संस्थामै बस्ने व्यवस्था गरिएको छ भने सबै व्यक्तिहरूको रगत समूह जाँच गर्न शिविरहरू सञ्चालन गरिएको छ ।

गौमुल गाउँपालिकालाई खोपमुक्त गाउँपालिका घोषणा गरिएको छ भने गाउँपालिका भित्रका सबै सडकहरूको डीपिआर तथा वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने कार्य सम्पन्न भएको छ । गाउँपालिकाभित्रका सबै सडक सञ्जालको आरटिएमपी तयार गरिएको छ । गाउँपालिका घटमुनादेखि मानाकोट र सियाढुङ्गासम्मको सडक सञ्चालनमा आएको छ ।

बालबालिकाहरुका लागि फनपार्क निर्माणको अन्तिम चरणमा रहेको छ भने देशका लागि दुई दिन कार्यक्रम सञ्चालन गरिएको छ । गौमुल गाउँपालिकाका ८० जनाले उद्यमशीलता सिर्जना गरिएको छ । युवा तथा युवा लक्षित तालिमहरू सञ्चालन गरी कुक, गाडी मर्मत, मोबाइल मर्मत, सावरीचालक र सिलाइ कटाइ तालिम सञ्चालन गरी कामको सिर्जना गरिएको छ भने विपत्मा परेका ९ सय ४० घरपरिवारलाई राहत वितरण गरिएको छ ।

नयाँ डिजिटल नागरिक वडापत्र सञ्चालनमा आएको, एक एफएम रेडियो रेडियो गौमुल सञ्चालनमा आएको, युवाहरू व्यवसायमा संलग्न गराउने उद्देश्यले प्रत्येक वडामा १५ लाखका दरले सहकारीलाई अनुदान दिएको, स्थानीय कच्चा पदार्थको प्रशोधन गरी व्यवसायिकता बढाउन आलुचिप्सको उद्योग सञ्चालनमा आएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम सय दिने रोजगार अन्तर्गत पालिकामा १८ सय ६ जनाले रोजगार पाएको र यो वर्ष रोजगार फर्म भर्ने काम भैरहेको छ । ग्रामीण जलस्रोत परियोजनाको साझेदारीमा ३४ वटा खानेपानी, १० वटा सिँचाइ योजना निर्माणमा ८ हजार ४ सय ५० जना लाभान्वित भएका छन् ।

१ हजार २९५ घरपरिवारलाई सुधारिएको चुलो वितरण गरिएको छ भने ८ वटा सार्वजनिक शौचालय निर्माण गरिएको छ । पशुपालन व्यवसायलाई व्यवस्थित गर्ने नीति अनुरुप पशुहरूको उपचारको व्यवस्था मिलाइएको छ भने सुनौलो हजार दिनका आमाहरू ६ सय जनालाई कुखुराको चल्ला वितरण गरिएको छ ।

कोभिड १९ उपचारका लागि अस्पताल स्थापना गरी डाक्टर सहितको सेवा सञ्चालनमा रहेको छ । पानीको शुद्धीकरणका लागि आमाहरूलाई ४८ वटा फिल्टर वितरण गरिएको, एक्सरे, भिडियो एक्सरे, इसिजी ल्याब फार्मेसी सञ्चालन गरिएको छ भने जटिल बिरामीको अप्रेसन र उपचारमा आर्थिक सहयोग प्रदान गर्दै आइरहेको छ ।

गौमुल गाउँपालिकाको कृषि विकास शाखा अन्तर्गत हालसम्म ६५ वटा कृषक समूह दर्ता भएका छन् भने सिजन अनुसारको बिउबिजन निःशुल्क वितरण गरिँदै आएको छ । कृषकहरूलाई अध्ययन अवलोकन भ्रमण निरन्तर रूपमा गरिँदै आएको छ ।

उन्नत जातको बिउ स्याउको २ हजार ८ सय विरुवा वितरण गरिएको छ भने ३ हजार केजी अलैँची, २० हजार किवी, दाँते ओखर १० हजार र स्याउ ११ हजार थप बिरुवा वितरण गरिएको छ । मसलाको पकेट क्षेत्र निर्माण गरिएको छ भने ६० क्विन्टल बेसारको बिउ वितरण गरिएको छ ।

बर्सेनि २ सय क्विन्टल सिमी र ३ हजार ५ सय ओखर स्थानीय किसानहरूले निर्यात गरेका छन् । ५ हजार बोट सुन्तला, २५० बोट कागतीको क्लस्टर निर्माण गरिएको छ । विभिन्न साझेदारहरुसँगको साझेदारीमा ५ सयवटा टनेल हाउस निर्माण गरी तरकारी खेती सुरु गरिएको छ ।

गुणस्तरीय शिक्षा कार्यक्रम अन्तर्गत शैक्षिक क्षेत्रको शून्यबाट सुरुको अवधारणा अन्तर्गत सबै विद्यालयका भवन बनेका छन् । २२ जना शिक्षकलाई काठमाडौँस्थित रातो बङ्गलामा तालिमको व्यवस्था गरी तालिम सम्पन्न गरिएको छ । बालविकास माध्यामिक विद्यालयलाई नमुना विद्यालय घोषणा गरिएको छ ।

कीर्तिचौर माध्यमिक विद्यालयमा प्राविधिक धार बाली विज्ञानको पठनपाठन सुरु गरिएको छ । साक्षर गाउँपालिका घोषणा गरिएको छ । १०८ जना प्राविधिक विद्यार्थीरुलाई छात्रवृत्ति वितरण गरिएको छ । नियमित रुपमा अध्यक्षहरुसँग पालिका स्तरीय अन्तक्र्रियाहरू गरिएको छ । शिक्षामा अल्पकालीन र दीर्घकालीन रणनीति लिएर काम भइरहेको छ । कक्षा १ देखि ३ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ ।

सुशासन तर्फका प्रयास 

गौमुल गाउँपालिकाले ५४ वटा ऐन, नियम र नियमावली र कार्यविधि पारित गरी कार्यान्वयनमा ल्याएको छ । डिजिटल प्रोफाइल र नागरिक वडापत्र कार्यान्वयनमा ल्याएको छ । मदिरा सेवन कार्ड लागु गरेर समाजमा शान्ति सुरक्षा कायम गरेको छ । नियमित अनुगमन, संवाद तथा अन्तत्र्रिmया भइरहेका छन् ।

नागरिकहरूको सेवालाई २४ घण्टा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । कार्यालयका गतिविधिहरूलाई जवाफदेही, उत्तरदायी र पारदर्शी बनाउने प्रयास गरिएको छ । नियम कानुन फस्टको नीति अवलम्बन गरिएको छ । बिहान ठीक १० बजे राष्ट्रिय गानका साथ कर्मचारीहरूको हाजिरी र उपस्थिति सुरु गरिएको छ ।

प्रत्येक वडामा गएर जनप्रतिनिधिसहितको बृहत् अन्तक्र्रिया कार्यक्रमलाई अघि बढाइएको छ भने हरेक वर्ष वार्षिक कार्ययोजनाअनुसार काम गर्ने परिपाटी व्यवस्थापन गरिएको छ । समान सहभागिता, निष्पक्षता तथा स्रोतको समान वितरण प्रणाली कार्यान्वयनमा ल्याइएको छ । 

प्रमुख पर्यटकीय स्थलहरु

गौमुल पाटन वडा नं. २, छडेतोली पाटन वडा नं. २ हंशिरे लेक वडा नं. १, गौमुल ताल हिमाल गौमुल वडा नं. २, गौमुल प्रकृतिक गेट वडा नं. २, बुढीगंगा नदीको उद्गम स्थान मुहान वडा नं. २, भिरतगौडा झरना, वडा नं. २, तामाखानी गौमुल २, रामणापाटन गौमुल १, वृन्दावन पाटन गौमुल १, दौगाडे झरना गौमुल १, डुडल्ले हिमाल गौमुल ४ र ६, बगर प्राकृतिक गुफा गौमुल ४, बसाला पाटन गौमुल ६, पाथरकोट पाटन गौमुल ६, टिकापाटन गौमुल ५, निमुनिया झरना गौमुल ५, खारचुथिल्ला हिमाल गौमुल ३, अखिल गुफा गौमुल ३ रहेका छन् ।

चुनौती 

विकास प्रयासमा निरन्तर काम भइरहेको भए पनि भौगोलिक विकटता, आन्तरिक श्रोतको अभाव, आर्थिक अभाव, परम्परागत आस्था तथा कुसंस्कार, सञ्चारको असुविधा, यातायातको अनियमितता, युवाहरू कामका लागि तत्पर नहुनु जस्ता चुनौतीको सामना गर्दै बेला बेलामा आउने प्रकृतिक प्रकोपको सामना गरिरहेको पालिकाले व्यवस्थित, प्रणालीबद्ध र साझेदारीको राम्रो सुरुवात गरेको छ ।

भविष्यमा सबै साझेदार संस्थाहरूको निरन्तरको सहयोग र समन्वयलाई नियमित बनाउँदै पालिकामा रहेका नागरिकहरूको क्षमता विकास गरी उनीहरूलाई टोल विकास संस्था मार्फत सङ्गठित र एकीकृत रूपमा परिचालन गर्दै नागरिक जीवन सहज बनाउने अभियानमा निरन्तर लागिरहने विश्वास गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाको विश्वास रहेको छ ।

निष्कर्ष 

गौमुल गाउंपालिका सुदूरपश्चिम प्रदेशको दुर्गम बाजुरा जिल्लामा रहेर पनि कुशलताकासाथ त्यहाँका नागरिकहरूलाई सरकारी सेवा सुविधाहरूमा सहज पहुँच स्थापित गर्ने, पालिकाको विकास प्रयासमा सबै नागरिकहरूको योजना निर्माण, कार्यान्वयन, उपभोग र संरक्षणसम्मको अर्थपूर्ण सहभागिता खोज्दै श्रोतहरूको न्यायिक वितरण प्रणालीलाई स्थापित गर्ने र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको नीतिलाई कार्यान्वयन गर्दै सबै नागरिकहरूको घरघरमा स्वस्थ खानेपानीको धारा, स्थानीय बिउबिजनदेखि ज्ञान सिप, क्षमताको पहिचान र प्रयोग, शिक्षा क्षेत्रमा शून्यदेखि सुरुवातको नीति मार्फत गुणस्तरीय शिक्षा र कृषिमा व्यवसायीकरण मार्फत स्थानीय किसानहरूको जीवन सहज बनाउने र स्थानीय युवाहरूलाई गाउँमै स्वरोजगार सिर्जना गरी गाउँमै श्रम गर्नका लागि आवश्यक वातावरण निर्माणको अभियानमा जुटेका प्रयासहरू साँच्चै प्रसंशनीय रहेका छन् ।

मदिराको अत्यधिक सेवन गरी घरेलु हिंसालगायत विविध अपराधलाई घटाउनका लागि पालिकाले मदिरा सेवन कार्ड निर्माण गरी १८० एमएल मात्रै प्रहरीको निगरानीमा बिक्री वितरण गरी कार्डमा चढाउने प्रणाली स्थापित गरी शान्ति सुरक्षाको व्यवस्था र मानव स्वास्थ्यलाई ध्यानमा राखेर गरिएका प्रयासहरूले पालिकाको नेतृत्वलाई कुशल नेतृत्वको संज्ञा स्थानीय बुद्धिजीवी तथा नागरिकहरूले दिएका छन् । गौमुल गाउँपालिकाको सामाजिक रुपान्तरणको यो अभियान साँच्चै प्रभावकारी रहेको देखिन्छ ।
 

प्रतिक्रिया