बाजुरा ः जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लाभित्र सञ्चालनमा रहेका सबै सार्वजनिक यातायातका साधनमा सिसीटिभी/ड्यासक्याम अनिवार्य रूपमा जडान गर्न निर्देशन दिएको छ। बुधबार जारी सूचना मार्फत प्रशासनले वैशाख ५ गतेभित्र उक्त व्यवस्था कार्यान्वयन गर्न आग्रह गरेको हो।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधार सम्बन्धी १०० कार्यसूची अनुसार सार्वजनिक यातायातमा हुने लैंगिक हिंसा नियन्त्रण र यात्रु सुरक्षालाई प्राथमिकतामा राख्दै यो निर्णय गरिएको हो। उनले तोकिएको समयसीमाभित्र अनिवार्य रूपमा कार्यान्वयन गर्न सम्बन्धित सबैलाई आग्रह गरेका छन्।
यसैगरी, सबै सार्वजनिक सवारी साधनमा स्पष्ट देखिने स्थानमा भाँडादर टाँस्न पनि निर्देशन दिइएको छ। चालक तथा सहचालकले यात्रा अवधिभर अनिवार्य रूपमा तोकिएको पोशाक र परिचयपत्र प्रयोग गर्नुपर्नेछ।
साथै, प्रत्येक सवारी साधनमा जीपीएस ट्र्याकिङ प्रणाली जडान गर्न पनि प्रशासनले निर्देशन दिएको छ, जसले यात्रु सुरक्षामा थप प्रभावकारी निगरानी सुनिश्चित गर्ने विश्वास गरिएको छ।






प्रतिक्रिया