बाजुरा ः बाजुरा जिल्लामा नेपाल टेलिकमको नेटवर्कमा देखिएको गम्भीर समस्याका कारण सर्वसाधारण सेवाग्राहीले ठूलो सास्ती खेप्नु परेको छ । जिल्लाका अधिकांश स्थानमा फोन सेवा प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा दैनिक जनजीवन प्रभावित बनेको स्थानीयहरुले गुनासो गरेका छन् ।
स्थानीयका अनुसार फोन लाग्ने तर आवाज नसुनिने, कुराकानीकै बीचमा फोन काटिने, आवाज टुट्ने, तथा कतिपय अवस्थामा फोन अन हुँदाहुँदै पनि ‘स्वीच अफ’ देखिने जस्ता समस्या व्यापक रूपमा देखिएका छन् । विशेषगरी दुर्गम बस्तीहरूमा यो समस्या झनै चर्को बनेको छ, जसले गर्दा आकस्मिक सेवामा समेत असर परेको छ ।
गौमुल गाउँपालिका-६ का स्थानीयबासी कलक चदाँराले भने, “फोन लाग्छ तर आवाज सुनिँदैन, कहिले काँही त कुरा गर्दागर्दै काटिन्छ । यस्तो अवस्थामा कसैसँग सम्पर्क गर्नै गाह्रो भएको छ ।
आपतकालीन अवस्थामा झन् समस्या हुन्छ ।” त्यस्तै, बुढीगंगा नगरपालिकाका मनबहादुर बाँनिया भन्छन् “हामीले धेरै पटक समस्या भोगिसक्यौं । फोन अन हुँदाहुँदै पनि अफ देखाउँछ ।
टेलिकमले छिटो समाधान नगरे झन् दुःख पाइन्छ ।” स्थानीयहरुले पटक-पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि समस्या समाधानतर्फ कुनै ठोस पहल नभएको गुनासो गरेका छन् ।
यसले शिक्षा, स्वास्थ्य, व्यापार लगायत विभिन्न क्षेत्रमा प्रत्यक्ष असर पारिरहेको छ । सेवाग्राहीहरूले नेपाल टेलिकमसँग तत्काल प्राविधिक समस्या पहिचान गरी दिगो समाधान गर्न जोडदार माग गरेका छन् । साथै, यस्ता समस्या दोहोरिन नदिन दीर्घकालीन पूर्वाधार सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।





प्रतिक्रिया