बाजुरा ःसुदूरपश्चिम प्रदेश सरकारले बाजुराको चार स्थानीय तहमा भेडा बाख्रापालन गर्न आर्थिक सहयोग गर्ने भएको छ । किसानलाई लक्षित गर्दै सरकारले कृषकलाई कृषि विकास बैंकबाट ऋण लगानी गर्ने भएको हो ।
सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले निजी क्षेत्रसँगको सहकार्यमा प्रदेशमा लगानीको वातावरण बनाउन सरकार लागिरहेको बताएका छन् ।
शनिवार बाजुरामा आयोजित उच्च पहाडी क्षेत्रमा बृहत्तर भेडा बाख्रा पालनका लागि सरोकारवालासँगको छलफल कार्यक्रममा उनले कृषि तथा उद्योग क्षेत्रमा लगानीका लागि निजी क्षेत्रसँग सहकार्य र समन्वय आवश्यक रहेको बताएका हुन् ।
मन्त्री थापाले सुदूरपश्चिमका बाजुरा, बझाङ र दार्चुला जिल्लामा रहेका भेडा तथा बाख्रापालक कृषकलाई लक्षित गरी पहिलो चरणमा परीक्षणका रूपमा नयाँ कार्यक्रम सुरु गर्न लागिएको जानकारी दिएका छन् ।
उनले यहाँका भेडा बाख्रापालक कृषकलाई कृषि विकास बैंकबाट ऋण लगानी गर्ने र त्यसको आठ प्रतिशत व्याज प्रदेश सरकारले तिर्ने गरी कार्यक्रम ल्याइएको बताएका छन् ।
मन्त्री थापाले भने, ‘निजी क्षेत्रलाई नजोडेर समृद्धि सम्भव छैन् । त्यसैले उच्च पहाडी क्षेत्रमा निजी क्षेत्रका कृषकसँग सहकार्य गरी बृहत् भेडा तथा बाख्रापालन कार्यक्रम गर्दैछौँ ।
पहिलो चरणमा बाजुराका हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकामा कार्यक्रम लागू गर्छौँ ।’
सुदूरपश्चिम प्रदेशसभा सदस्य नरेश कुमार शाहीले जिल्लाको भेडा, बाख्रापालनको सम्भावनालाई प्राथमिकता राख्दै कृषि क्षेत्रमा किसानलाई आत्मनिर्भर बनाउने गरी कार्यक्रम अगाडी बढाउन लागिएको बताएका छन् ।





प्रतिक्रिया