बाजुरा ःगौमुल गाउँपालिका-४ कालादहमा अवस्थित कीतिचौर माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३ देखि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने भएको छ । ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्य सहित विद्यालयले यो महत्वपूर्ण कदम चाल्न लागेको हो ।
वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर वि.क.का अनुसार, आर्थिक रुपमा कमजोर र विपन्न समुदायका बालबालिकालाई गाउँमै स्तरीय तथा प्रतिस्पर्धात्मक शिक्षा उपलब्ध गराउने लक्ष्य सहित अंग्रेजी माध्यमको कक्षा सञ्चालन गर्न लागिएको हो ।
“हाम्रा बालबालिका पनि अंग्रेजी विषयमा अब्बल बनून् भन्ने हाम्रो चाहना हो,” उनले बताएका छन् । विद्यालयका प्रधानाध्यापक मानबहादुर बडुवालले विद्यालयको शैक्षिक गुणस्तरलाई क्रमशः सुधार गर्दै लैजाने योजना अन्तर्गत यो पहल गरिएको स्पष्ट पारेका छन् ।
उनका अनुसार, शिक्षक क्षमता अभिवृद्धि, आवश्यक शैक्षिक सामग्रीको व्यवस्थापन तथा अभिभावकसँग समन्वय गर्दै विद्यालयलाई नमूना शैक्षिक संस्था बनाउने लक्ष्य राखिएको छ ।
स्थानीय तह, अभिभावक र विद्यालयबीचको सहकार्यले यो योजना सफल हुने विश्वास गरिएको छ । अंग्रेजी माध्यमको पठनपाठन सुरु भएपछि यस क्षेत्रका विद्यार्थीहरुले नयाँ अवसर पाउने र समग्र शैक्षिक वातावरणमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ ।
विद्यालयलाई आगामी दिनमा नमूना विद्यालयका रूपमा विकास गर्ने दीर्घकालीन उद्देश्य समेत राखिएको छ । बैठकमा गौमुल गाउँपालिका-६ का वडा अध्यक्ष प्रकाश रोकाया, विद्यालय व्यवस्थापन समिति, स्थानीय अभिभावक लगायतको भव्य सहभागीता रहेको थियो ।





प्रतिक्रिया