गाैमुल खबर डटकम बुधबार ३०, बैशाख २०८३ ०४:०२

बाजुरामा पाँच स्थानीय तहमा प्रशासनिक नेतृत्व फेरबदल

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, चैत २०, २०८२
बाजुरामा पाँच स्थानीय तहमा प्रशासनिक नेतृत्व फेरबदल

बाजुरा : बाजुराका पाँच स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । नौ वटा स्थानीय तहमध्ये पाँच स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाएको हो । संघिय सरकारबाट नै उपसचिव तहको प्रमुख प्रशासकीय अधिकृत पठाउने नीति अनुरुप नै पठाइएको हो ।

पाँचै जना उपसचिव तहको नयाँ सरकार बनेसँगै रिक्त रहेका तीन गाउँपालिका र दुई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले लामो समयदेखि रिक्त रहेर निमित्तको भरमा सञ्चालन भइरहेका पालिकामा प्रशासनिक कामलाई प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएकी हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको यहीँ चैत १६ गतेको निर्णयअनुसार बुढीगंगा नगरपालिकामा उपसचिव भोजबहादुर ऐडी र बुढीनन्दा नगरपालिकामा विनोद कुमार पौडेललाई कामकाजका रुपमा खटाएको छ । त्यस्तै मन्त्रालयको चैत १९ गते अर्थात बिहीवारको निर्णय बमोजिम जिल्लाका तीन वटा गाउँपालिका पनि प्रमुख प्रशासकीय अधिकृतका रुपमा शाखा अधिकृतलाई खटाएको छ ।

यसअघि देखि त्रिवेणी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत टेकबहादुर मौनीलाई मन्त्रालयले खप्तड छेडेदह गाउँपालिकामा कामकाजका रुपमा खटाएको छ । यस्तै जगन्नाथ गाउँपालिकामा हेमन्त चुनारा र स्वामीकार्तिक खापर गाउँपालिकामा रमेशसिंह भण्डारीलाई प्रमुख प्रशासकीय अधिकृतमा खटाएको जनाएको छ ।

मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएका स्थानीय तहहरु मध्ये अधिकांश पालिकाहरु निमित्तका भरमा चल्दै आएका थिए । अब नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएसँगै ति पालिकाहरुमा सेवा प्रवाहसँगै प्रशासनिक कामकाज थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

यसअघिका सरकारले पनि जिल्लाका सबै स्थानीय तहहरुमा दरबन्दीअनुसार नै प्रमुख प्रशासकीय अधिकृत खटाए पनि धेरैजसो नआउने र कोही आए पनि हप्तादिन नबित्दै सरुवा गरेर जाने समस्या रहदैँ आएको छ । करिब दुई तिहाई नजिकको सरकार बनेसँग बाजुराका ९ स्थानीय तहमध्ये पाँच वटामा प्रमुख प्रशासकीय अधिकृत खटाइए पनि अझै केही पालिका भने निमित्तकै भरमा सञ्चालन भइरहेको छन् ।

हाल बडीमालिका नगरपालिका र हिमाली गाउँपालिकामा दरबन्दी अनुसारकै प्रमुख प्रशासकीय अधिकृत कार्यरत छन् । भने गौमुल गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत र त्रिवेणी नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतलाई खप्तड छेडेदहमा खटाएसँगै सो नगरपालिका पनि प्रमुख प्रशासकीय अधिकृत विहीन बनेको छ । 

प्रतिक्रिया