गाैमुल खबर डटकम शनिबार २३, साउन २०८३ ०१:३५

नागरिकलाई स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गरी स्वस्थ जीवनयापन गराउने सरकारको योजना रहेको छ : उपाध्यक्ष थापा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, चैत १९, २०८२
नागरिकलाई स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गरी स्वस्थ जीवनयापन गराउने सरकारको योजना रहेको छ : उपाध्यक्ष थापा

बाजुरा ः गौमुल गाउँपालिकाकी उपाध्यक्ष सीता थापाले नागरिकलाई स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्दै स्वस्थ जीवनयापन गराउने सरकारको पहिलो प्राथमिक योजना रहेको बताएकी छन् ।

बिहीबार गाउँपालिका-६ सालीकोटस्थित नयाँ बस्ती सञ्जीवनी टोलमा निर्माण सम्पन्न बृहत् खानेपानी योजनाको अनुगमन गर्दै उपाध्यक्ष थापाले यस्तो धारणा व्यक्त गरेकी हुन् ।

उनले खानेपानी जस्तो आधारभूत आवश्यकता पूरा गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै योजनालाई दीर्घकालीन रूपमा सञ्चालन गर्न सबैको सहकार्य आवश्यक रहेको बताइन् ।

उक्त खानेपानी योजना गौमुल गाउँपालिका र जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजनाको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको हो ।

योजना मार्फत यसअघि वडा नम्बर-३ का नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा ल्याइएको थियो भने अहिले क्रमशः वडा नम्बर-६ मा समेत सेवा विस्तार गरिएको छ ।

उपाध्यक्ष थापाका अनुसार गाउँपालिकाभित्र खानेपानीको अभावले कुनै पनि नागरिक समस्यामा नपरोस् भन्ने उद्देश्यले सबै वडामा खानेपानी आयोजना सञ्चालन गर्ने लक्ष्य लिइएको छ ।

उनले सरकारद्वारा घरघरमा पुर्याइएको खानेपानीको संरक्षण र दिगो व्यवस्थापनमा उपभोक्ता स्वयं जिम्मेवार हुनुपर्नेमा विशेष जोड दिइन् ।

 “स्वच्छ खानेपानीको प्रयोगले मात्र होइन, यसको संरक्षण र सही व्यवस्थापनले पनि स्वस्थ समाज निर्माणमा ठूलो भूमिका खेल्छ,” उनले भनिन् ।

गाउँपालिकाले आगामी दिनमा थप प्रभावकारी रूपमा खानेपानी व्यवस्थापन, मर्मत सम्भार र दीर्घकालीन योजना कार्यान्वयनमा ध्यान केन्द्रित गर्ने जनाएको छ ।
 

प्रतिक्रिया