मंगलसेन ः पत्रकारितालाई आधुनिक प्रविधिसँग जोड्दै पत्रकारहरुलाई दक्ष र अद्यावधिक बनाउने उद्देश्यले अछामको मंगलसेनमा दुई दिने “एआई, मल्टिमिडिया तथा मोबाइल पत्रकारिता” तालिम सुरु भएको छ ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजना, प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामको समन्वयमा मंगलबारदेखि सदरमुकाम मंगलसेनमा तालिम सञ्चालनमा आएको हो ।
तालिममा अछामसहित बाजुरा र डोटी जिल्लाका पत्रकारहरुको सहभागिता रहेको छ । कार्यक्रममा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग, मोबाइल मार्फत प्रभावकारी मल्टिमिडिया सामग्री निर्माण, डिजिटल प्लेटफर्ममा सम्पादन तथा प्रकाशन लगायत विषयमा सहजीकरण भइरहेको छ ।
दुई दिनसम्म सञ्चालन हुने तालिमको सहजीकरण प्रशिक्षक तथा पत्रकार विकास कार्कीले गरिरहेका छन् । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष भरत शाहले प्रदेशका पत्रकारहरुलाई आधुनिक प्रविधिसँग अद्यावधिक गराउँदै गुणस्तरीय र प्रभावकारी सामग्री उत्पादनमा सक्षम बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताएका छन् ।
उनले पहाडी जिल्लाका पत्रकारहरूलाई यस्ता अवसरका लागि धनगढीसम्म पुग्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै जिल्लामै सीपमूलक तालिम आयोजना गर्नु समयानुकूल पहल भएको बताएका हुन् ।
कार्यक्रमकी प्रमुख अतिथि तथा पञ्चदेवल बिनायक नगरपालिकाकी प्रमुख अम्बिका चलाउनेले आधुनिक प्रविधिको प्रयोगबाट सूचना सम्प्रेषण तीव्र र प्रभावकारी बनेको उल्लेख गर्दै यसलाई अझ व्यवस्थित, मर्यादित र सकारात्मक बनाउन तालिम उपयोगी हुने विश्वास व्यक्त गरिन् ।
त्यसैगरी अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले यस्ता समयसापेक्ष तालिमले पत्रकारहरूलाई सीपयुक्त बनाउँदै व्यावसायिक पत्रकारितामा टेवा पुर्याउने बताएका छन् ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष भरत शाहको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।






प्रतिक्रिया