गाैमुल खबर डटकम आइतबार १५, चैत २०८२ ०९:१४

कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा निष्पक्षता माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, चैत १४, २०८२
कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा निष्पक्षता माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

इटहरी : कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा निष्पक्षता र समान न्यायको माग गर्दै इटहरीका संजय खड्काले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।

उनले प्रतिवेदन कार्यान्वयनको पहललाई स्वागत गर्दै सबै दोषीलाई कानुन अनुसार कारवाही गर्न आग्रह गरेका छन्।

ज्ञापनपत्रमा खड्काले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनतर्फ सरकारले देखाएको साहसको प्रशंसा गरेका छन्। तर, दोषी प्रमाणित भइसकेपछि कसैलाई कारवाही गर्ने र कसैलाई उन्मुक्ति दिने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

उनले जेन्जी आन्दोलनसँग सम्बन्धित घटनामा दोषी ठहरिएका तीनवटै सुरक्षा निकायका प्रमुखलाई तत्काल पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाउन माग गरेका छन्।

साथै, प्रहरी हत्या, दर्जनौं नागरिकलाई जिउँदै जलाउने तथा भदौ २४ मा भएका विध्वंसकारी घटनामा संलग्न सबैलाई निष्पक्ष रूपमा कारवाही गर्नुपर्ने उनको भनाइ छ।

त्यस्तै, भ्रम फैलाएर देश अस्थिर बनाउने तथा कार्की आयोगको प्रतिवेदनमा उल्लेख गरिएका पाँच जना इन्फ्लुएन्सरसँगै गौरी बहादुर कार्कीलाई समेत समावेश गरी छ जनामाथि कारवाही गर्न उनले सरकारसमक्ष आग्रह गरेका छन्।

ज्ञापनपत्रमा भदौ २४ का घटनामा संलग्न केही दोषीको पहिचान स्रोत-साधन अभावका कारण हुन नसकेको उल्लेख गर्दै ती व्यक्तिहरूको पहिचान गर्न सहयोग पुग्ने उद्देश्यले प्रश्नावली समेत संलग्न गरिएको जानकारी दिइएको छ।

अन्त्यमा, उनले निष्पक्ष र पारदर्शी न्यायिक प्रक्रिया अघि बढाउन तथा कुनै पनि प्रकारको पक्षपात अन्त्य गरी समान न्यायको स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया