गाैमुल खबर डटकम शुक्रबार १३, चैत २०८२ ०२:०१

बाजुरा अस्पताल अध्यक्ष नियुक्तिमा काँग्रेसभित्र गुटबन्दी, दुवै पक्षका सिफारिस सार्वजनिक

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, चैत १२, २०८२
बाजुरा अस्पताल अध्यक्ष नियुक्तिमा काँग्रेसभित्र गुटबन्दी, दुवै पक्षका सिफारिस सार्वजनिक

बाजुरा ः नेपाली कांग्रेस बाजुराभित्र जिल्ला अस्पताल व्यवस्थापन समितिको अध्यक्ष नियुक्ति प्रक्रियालाई लिएर आन्तरिक विवाद सतहमा आएको छ । पार्टीभित्रै दुई फरक गुटबाट फरक-फरक नाम सिफारिस भएपछि विषय सामाजिक सञ्जालदेखि संगठनभित्रै चर्चाको केन्द्र बनेको हो ।

जिल्ला अस्पताल बाजुराको अध्यक्ष पदका लागि पार्टीका उपसभापति पदम बडुवालले नेता हिरेन्द्रबहादुर रोकायाको नाम पार्टीको लेटरहेड मार्फत सिफारिस गरेको खुलासा भएको छ ।

उता, अर्का पक्षबाट भरत बुढाको पनि समानान्तर सिफारिस गरिएको सार्वजनिक भएपछि विवाद थप चर्किएको हो । स्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष अनुभव राख्ने भरत बुढाले सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै विगत दशकदेखि बाजुराको स्वास्थ्य प्रणालीलाई नजिकबाट बुझेको, अस्पताल सुधारका लागि कार्ययोजना समेत तयार पारेको उल्लेख गरेका छन् ।

उनले प्रक्रिया अनुसार सम्बन्धित मन्त्रालयमा निवेदन दिँदा पनि समन्वय र सोधखोज नगरिएकोप्रति असन्तुष्टि जनाएका छन् । बुढाले लेखेका छन्, “सार्वजनिक संस्था किन प्रभावकारी हुन सकेनन् भन्ने प्रश्नको उत्तर कामबाट दिन चाहन्थें, तर प्रक्रियागत समन्वयको अभाव देखियो ।”

यद्यपि, उनले आफू नियुक्त नभएपनि बाजुरा अस्पतालको विकास र व्यवस्थापनका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । यसैबीच, जिल्ला अस्पताल बाजुराको अध्यक्षमा नियुक्त भएका धनबहादुर रावतलाई बुढाले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

तर, नियुक्ति प्रक्रियामा देखिएको गुटगत प्रभावले नेपाली कांग्रेस बाजुराभित्रको आन्तरिक शक्ति संघर्ष पुनः उजागर गरेको विश्लेषण गरिएको छ ।

स्थानीय स्तरमा स्वास्थ्य संस्था व्यवस्थापन जस्तो संवेदनशील विषयमा पनि राजनीतिक गुटबन्दी हाबी भएको भन्दै नागरिकस्तरबाट समेत प्रश्न उठ्न थालेका छन् ।

बाजुरा अस्पतालको सुधार र सेवा प्रवाह प्रभावकारी बनाउने चुनौतीसँगै अब नयाँ नेतृत्वले विश्वास जित्ने परीक्षा सामना गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया