बाजुरा ःसुदूरपश्चिम प्रदेश सरकारभित्रको आन्तरिक असन्तुष्टि सतहमा आएको छ । सत्ता साझेदार दलबीच सहमतिमा अघि बढ्ने प्रतिबद्धता भएपनि व्यवहारमा एकपक्षीय निर्णय हुन थालेपछि विश्वासको संकट गहिरिँदै गएको देखिएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठक नेकपा (एमाले) ले बहिष्कार गरेपछि सरकार सञ्चालनमा समन्वय अभाव प्रष्ट भएको हो । एमालेको अनुपस्थितिमै मुख्यमन्त्री कमलबहादुर शाह र नेपाली कांग्रेसका मन्त्रीहरूको उपस्थितिमा बैठक बसेर विभिन्न जिल्ला अस्पताल तथा प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरू नियुक्त गरिएको छ ।
बैठकले टिकापुर प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा रामबहादुर भण्डारी, दार्चुला जिल्ला अस्पतालमा तोरणप्रसाद अवस्थी, बैतडी जिल्ला अस्पतालमा धनबहादुर क्षेत्री, बाजुरा जिल्ला अस्पतालमा धनबहादुर रावत र बझाङ जिल्ला अस्पतालमा वीरेन्द्रबहादुर खड्कालाई नियुक्त गरेको छ ।
नियुक्त गरिएका अध्यक्षहरु मध्ये बझाङ बाहेक अधिकांश नेपाली कांग्रेस निकट व्यक्तिहरू रहेको आरोप लागेपछि एमालेले आपत्ति जनाएको छ । सहमति विपरीत एकतर्फी रुपमा निर्णय गरिएको भन्दै एमाले असन्तुष्ट बनेको हो ।
यता, बाजुरामा भने यो निर्णयले पार्टीभित्रै तीव्र असन्तुष्टि निम्त्याएको छ । एमाले कार्यकर्ताहरुले सामाजिक सञ्जाल मार्फत नेतृत्वप्रति आक्रोश पोख्दै निर्णय तत्काल सच्याउन माग गरेका छन् ।
उनीहरूले यो निर्णयलाई केवल सत्ता साझेदारीको मर्म विपरीत मात्र नभई जिल्ला पार्टी कमिटीको अपमान समेत भएको बताएका छन् ।
एमाले कार्यकर्ताहरुले चेतावनी दिँदै निर्णय नसच्याइए संसदीय दलका नेता राजेन्द्र सिंह रावल र प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।
साथै, आवश्यक परे सत्ता समीकरण नै परिवर्तन गर्ने अभियान सुरु गर्नुपर्ने माग समेत उठाइएको छ । सहमति एकातिर र निर्णय अर्कोतिर हुने प्रवृत्तिले सुदूरपश्चिम प्रदेश सरकारको स्थायित्व र सत्ता साझेदारबीचको सहकार्यमा गम्भीर प्रश्न उठ्न थालेको छ ।





प्रतिक्रिया