गाैमुल खबर डटकम बिहीबार १२, चैत २०८२ ०१:४५

प्रयोग विहीन बेलिब्रिज दानसाँघु खोलामा स्थानान्तरण हुँदै, चार स्थानीय तहका बासिन्दालाई आवागमन सहज हुने

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, चैत ११, २०८२
प्रयोग विहीन बेलिब्रिज दानसाँघु खोलामा स्थानान्तरण हुँदै, चार स्थानीय तहका बासिन्दालाई आवागमन सहज हुने

बाजुरा ः बाजुराको जडाङ्गा खोलामा विगत केही वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको बेलिब्रिज पुल अब बुढीनन्दा नगरपालिका-२ स्थित दानसाँघु खोलामा स्थानान्तरण गरिने भएको छ ।

सरोकारवाला निकाय र स्थानीय समुदायबीच सहमति भएपछि पुल सार्ने काम औपचारिक रूपमा अघि बढाइएको हो।

बुढीनन्दा नगरपालिकाका उपप्रमुख रामबहादुर बोहराले गत मंसिर ४ गते दानसाँघु खोलामा आयोजित कार्यक्रममा पुल स्थानान्तरणको शिलान्यास गरेका थिए ।

हाल साँफे-मार्तडी सडकखण्डअन्तर्गत जडाङ्गामा रहेको उक्त बेलिब्रिज खोलाबाट निकालेर नयाँ स्थानमा जडान गर्ने प्रक्रिया सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख जनक कुमार बोहराका अनुसार यो पुल स्थानान्तरणले जिल्लाको पूर्वीत्तरी क्षेत्रमा रहेका कम्तीमा चार स्थानीय तहका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।

“पहिले पनि दानसाँघुमा पुल सार्ने पहल भएको थियो, तर विवाद र बजेट अभावका कारण काम रोकिएको थियो,” उनले बताए ।

बुढीनन्दा नगरपालिकाको पहल र सडक डिभिजन कार्यालय साँफेबगर (अछाम) को आर्थिक सहयोगमा करिब २ करोड २२ लाख रुपैयाँ लागतमा पुल स्थानान्तरण कार्य भइरहेको छ ।

उक्त बेलिब्रिज करिब पाँच वर्षदेखि जडाङ्गा खोलामा प्रयोगविहीन अवस्थामा थियो । सुरुमा पक्की पुल नहुँदा यसको प्रयोग भए पनि पछि नजिकै स्थायी पुल निर्माण भएपछि यसको उपयोग बन्द भएको थियो ।

साँफे-मार्तडी सडकखण्ड अन्तर्गत अछामको साँफेबगरदेखि बाजुराको मार्तडीसम्म करिब ५७ किलोमिटर सडक रहेको छ । साथै, मार्तडी-कोल्टी खण्ड करिब ४२ किलोमिटर र कोल्टी-धुलाचौर खण्ड करिब १६ किलोमिटर लामो रहेको छ।

प्रतिक्रिया