गाैमुल खबर डटकम मङ्गलबार १०, चैत २०८२ १०:५६

बाजुरामा क्षयरोगको बढ्दो चुनौती : पाँच वर्षमा १८ जनाको मृत्यु, नियन्त्रणमा चुनौती

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, चैत १०, २०८२
बाजुरामा क्षयरोगको बढ्दो चुनौती : पाँच वर्षमा १८ जनाको मृत्यु, नियन्त्रणमा चुनौती

बाजुरा ः बाजुरामा पछिल्लो पाँच वर्षमा क्षयरोगका कारण १८ जनाको मृत्यु भएको तथ्य सार्वजनिक भएको छ। विश्व क्षयरोग दिवस (मार्च २४) को अवसरमा स्वास्थ्य कार्यालय बाजुराले आयोजना गरेको कार्यक्रममा उक्त जानकारी दिइएको हो।

कार्यालयका अनुसार आर्थिक वर्ष ०७७/७८ मा १, ०७८/७९ मा ३, ०७९/८० मा २, ०८०/८१ मा ६, ०८१/८२ मा ४ र चालु आर्थिक वर्ष ०८२/८३ को फागुन मसान्तसम्म २ जनाको क्षयरोगबाट मृत्यु भएको छ।

गत आर्थिक वर्ष ०८१/८२ मा ३१० जनामा क्षयरोग पहिचान गर्ने लक्ष्य राखिएकोमा १४१ जनामा मात्रै संक्रमण पुष्टि भएको जनस्वास्थ्य अधिकृत कुमार न्यौपानेले जानकारी दिए।

हाल जिल्लामा ८१ जना संक्रमित बिरामी नियमित औषधि सेवनमा रहेका छन्। जिल्लाका नौ स्थानीय तहमध्ये बडीमालिका नगरपालिकामा सबैभन्दा उच्च क्षयरोग दर (प्रतिलाख २१९) रहेको तथ्यांकले देखाएको छ।

कार्यक्रममा सहभागीहरूले क्षयरोग नियन्त्रणका लागि तथ्यांकमा मात्र सीमित नभई समुदायस्तरमा सक्रिय परीक्षण, खोजी तथा जनचेतनामूलक कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।

जिल्ला अस्पताल बाजुराका प्रमुख डा. चन्द्रशेखर यादवले क्षयरोगलाई विशेष दिवसमा मात्रै सीमित नगरी वर्षभरि प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए।

उनका अनुसार समयमै पहिचान र नियमित औषधि सेवनबाट क्षयरोग पूर्ण रूपमा निको पार्न सकिन्छ। क्षयरोग (टिबी) एक सरुवा रोग हो, जुन संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा वा थुक्दा हावामार्फत अन्य व्यक्तिमा सर्ने गर्दछ।

लामो समयसम्म खोकी लाग्ने, खकारमा रगत देखिनु, ज्वरो आउनु, राति पसिना आउनु र तौल घट्दै जानु यसको प्रमुख लक्षण हुन्।

नेपाल सरकारले क्षयरोगीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउँदै आएको भए पनि दुर्गम भौगोलिक अवस्था, स्वास्थ्य संस्थासम्म पहुँचको कमी र सामाजिक हिच्किचाहटका कारण सबैले सेवा लिन सकेका छैनन्। सरकारले सन् २०३५ सम्म क्षयरोग नियन्त्रण र २०५० सम्म उन्मूलन गर्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया