गाैमुल खबर डटकम सोमबार ०९, चैत २०८२ ०३:१८

एमाले सुदूरपश्चिमको विवाद दलको नेता हटाउने तहमा

धनगढी
जनक विष्ट
सोमबार, चैत ०९, २०८२
एमाले सुदूरपश्चिमको विवाद दलको नेता हटाउने तहमा

धनगढी ः राजनीतिक नियुक्तिको विषयमा भएको विवाद नेकपा एमाले प्रदेश संसदीय दलको नेता परिवर्तन गर्ने तहसम्म पुगेको छ । संसदीय दलका नेता राजेन्द्र सिंह रावलले अस्पताल व्यवस्थापन समिति लगायतको नियुक्ति गर्दा परामर्श नगरी एकलौटी गरेको भन्दै एमाले सुदूरपश्चिम प्रदेश कमिटीले पार्टी केन्द्रको ध्यानाकर्षण गराएको छ ।

‘सरकारका विभिन्न निकायमा राजनीतिक नियुक्ति गर्दा उहाँले पार्टी कमिटीमा कुनै परामर्श गर्नुभएको छैन । आफूखुसी सिफारिस गर्ने काम गर्नुभएको छ,’ एमाले प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले भने, ‘हामीले यिनै विषयमा लेखेर पार्टी केन्द्रलाई पठाएका छौँ ।’

पूर्वमुख्यमन्त्री रावल पार्टीको सम्पर्कमा नै नरहने गरेको आरोप लगाइएको छ । उनी सम्पर्कविहीन भएको भन्दै राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरको कृष्णपुर नगर कमिटीले आइतबार संसदीय दलको कार्यालयमै तालाबन्दी गरेको छ ।

तालाबन्दी गर्ने युवाहरुले रावलले राजनीतिक नियुक्तिमा एकलौटी गरेको, प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारलाई असहयोग गर्ने व्यक्तिलाई नियुक्ति दिलाएको, पटक–पटक प्रयास गर्दा पनि सम्पर्कमा नआउने गरेका जस्ता आरोप लगाएको छ ।

रावल के भन्छन् ?

तर रावलले भने आफूमाथि लगाइएका आरोपमा कुनै सत्यता नभएको दाबी गरेका छन् । अहिलेसम्म पार्टीको भागमा परेको महाकाली प्रादेशिक अस्पतालको व्यवस्थापन समितिका पदाधिकारी र सदस्य मात्र नियुक्त गरेको बताउदै पार्टीकै परामर्शमा भएको बताए । पार्टीका प्रदेश अध्यक्ष सहितका नेताहरुसँग परामर्श गरेरै सबै नियुक्तिका लागि सिफारिस गरिएको उनी बताउँछन् ।

‘पार्टीका प्रदेश अध्यक्ष कमरेड लगायतसँगको परामर्शअनुसार नै विभिन्न नियुक्तिका लागि सिफारिस गरिएको छ,’ रावलले भने, ‘अहिले आएर उहाँहरु गलत आरोप लगाएर भ्रमपूर्ण कुरा फैलाइरहनुभएको छ । किन हो मलाई थाहा छैन ।’ रावलले यो बीचमा स्वास्थ्य समस्या देखिएकाले नेताहरुको सम्पर्कमा आउन नसकेको बताए । खप्तड पर्यटन विकास समितिको अध्यक्षमा बझाङकी जमुना चन्दलाई सिफारिस गर्दा विवाद निकाल्न खोजिएको पनि रावलले बताए ।

‘महिला पनि कार्यकारी भूमिकामा आउनुुपर्छ भनेर सिफारिस गर्नु मेरो गल्ती हो र ? सबै कुुरा उहाँहरुले नै भनेको हुन्छ ? कुनै कुरामा संसदीय दलको नेताको निर्णय पनि मान्नुपर्छ होला,’ रावलले भने, ‘प्रदेशको अध्यक्षले जे-जे भन्यो त्यही गर्न जिम्मेवारीमा आएको होइन ।’ एक नेताका अनुसार रावलको कार्यशैलीमाथि प्रश्न उठाउदै संसदीय दलको नेता फेर्नेगरी पार्टी नेता र प्रदेश सांसदहरु लागिपरेका छन् ।

तर दलको नेतामा आकांक्षी रहेकाहरु पार्टी केन्द्रको निर्देशन कुरिरहेको उनी बताउँछन् । ‘उहाँ (रावल) को कार्यशैलीका कारण पार्टीमा समस्या आइरहेको छ । अब विकल्प खोजेर अघि बढ्नुुपर्छ भन्ने पक्षमा सबै जना हुनुहुन्छ,’ एक सांसद भन्छन्, ‘यो विषयमा प्रदेशले पार्टी केन्द्रलाई लेखेर पठाएको छ । केन्द्रबाट कस्तो खालको निर्देशन आउँछ भन्ने कुरा कुरिरहेका छौँ ।’

तीन नेताको आकांक्षा

एमाले सुदूरपश्चिम प्रदेश सभामा ११ जना सांसद छन् । उनीहरु मध्ये रावल संसदीय दलको नेता छन् भने सन्तोष शर्मा थापा उपनेता छन् । कोइलीदेवी चौधरी उपसभामुख छिन् । डोटीबाट निर्वाचित चक्रबहादुर मल्ल प्रमुख सचेतक छन् भने बैतडीकी सांसद जानकी कुँवर बम सचेतक हुन् ।

एमालेबाट तीन जना मन्त्री छन् । सुरेन्द्र बहादुर पाल भौतिक पूर्वाधार विकास मन्त्री, बिरबहादुर थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री, हिरा पार्की आन्तरिक मामिला तथा कानुन मन्त्री र निर्मला साउद भौतिक पूर्वाधार विकास राज्यमन्त्री छन् । धर्मराज पाठक सामाजिक विकास समितिको सभापति छन् ।

दलको नेता बन्न अहिलेकी उपनेता सन्तोष शर्मा थापा, प्रमुख सचेतक चक्रबहादुर मल्ल र सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले आकांक्षा राखेको स्रोत बताउँछ । ‘उहाँहरु तीनै जनाले दलको नेतामा दाबी गर्दै आ–आफ्नो ढंगले छलफल चलाइरहनुभएको छ । तर व्यक्तिगत आकांक्षाले मात्र हुँदैन,’ एक सांसदले भने, ‘पार्टीको केन्द्र र प्रदेशको राय, परामर्श र निर्देशनका कुराहरु पनि होलान् ।’

थापाले आफू उपनेता भएकाले दलको नेता दावी गर्नु स्वभाविक हुने बताउने गरेका छन् । केन्द्रीय सदस्य मल्ल पनि आफ्नो पक्षमा माहोल बनाउन सक्रिय छन् । सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले पनि आफू युवा भएको र संसदीय दलको नेतृत्व गर्न सक्ने क्षमता भएको दावी गरेका छन् ।

प्रतिक्रिया