धनगढी ः फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ का ५७ जना काँग्रेसीले पैसा लिएको आरोप सार्वजनिक भएको छ।
नेपाली काँग्रेसबाट कैलाली–५ मा उम्मेदवार बनेका नरनारायण शाहले ५७ जना काँग्रेसका नेताहरूले प्रेमबहादुर आलेबाट रकम बुझेको दाबी गरेका हुन्। एक मिडियासँगको कुराकानीमा उनले आलेले नै आफूलाई भेटेर पैसा बुझ्ने ५७ जनाको नामावली दिएको बताएका छन्।
शाहका अनुसार नेतृत्व तहमा रहेका केही नेताहरूले समेत आलेबाट रकम लिएका छन्। तर, कस–कसले पैसा बुझे भन्ने विवरण भने उनले सार्वजनिक गरेका छैनन्।
उनले नाम सार्वजनिक गरे पार्टी नै संकटमा पर्न सक्ने भन्दै आफूले सूची गोप्य राखेको बताएका छन्। चुनावमा पैसाको चलखेल भएको विषयमा आलेले नै आफूलाई सूची दिएको दाबी शाहको छ, तर कसले कति रकम लियो भन्ने खुलाइएको छैन।
यो विषय सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा सुरु भएको छ। ‘रकम बुझ्ने काँग्रेसीहरू को–को हुन्?’ भन्ने प्रश्न उठ्न थालेको छ।
कैलाली–५ मा काँग्रेसका उम्मेदवार शाह पराजित भएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ३१ हजार ९५३ मत ल्याएर जित हात पारेका थिए। शाहले ११ हजार ९५८ मत प्राप्त गरेका थिए भने नेकपाका उम्मेदवार प्रेमबहादुर आलेले ७ हजार ८७६ मत मात्र पाएका थिए।





प्रतिक्रिया