गाैमुल खबर डटकम शनिबार ०७, चैत २०८२ १०:५७

राजनीतिक नियुक्तिले सुदूरपश्चिमको सत्ता समीकरणमा खटपट, एमाले प्रदेश कमिटीद्वारा केन्द्रलाई पत्राचार

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, चैत ०७, २०८२
राजनीतिक नियुक्तिले सुदूरपश्चिमको सत्ता समीकरणमा खटपट, एमाले प्रदेश कमिटीद्वारा केन्द्रलाई पत्राचार

बाजुरा ः सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न अस्पतालमा गरेको राजनीतिक नियुक्तिले सत्ता गठबन्धनभित्रै असन्तुष्टि र खटपट बढाएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, लम्कीचुहा अस्पताल र जोगबुडा अस्पतालमा पदाधिकारी नियुक्त गरेपछि सत्तारूढ दलहरूबीच विवाद चुलिएको हो।

चारमध्ये एक अस्पतालमा मात्र नेकपा एमाले निकटका एक अध्यक्ष र दुई सदस्य नियुक्त भएका छन् भने बाँकीमा नेपाली कांग्रेस निकट व्यक्तिहरूको बाहुल्यता रहेको आरोप एमालेले लगाएको छ।

नियुक्ति प्रक्रियालाई लिएर एमालेभित्रै धेरै असन्तुष्टि देखिएको छ। एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले भागबण्डाअनुसार आफ्नो पक्षबाट नाम सिफारिस गरे पनि प्रदेश कमिटीले भने पार्टीसँग समन्वय नै नगरी प्रक्रिया अघि बढाइएको भन्दै आपत्ति जनाएको छ।

एमाले प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले केही दिनअघि मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्र पठाउँदै सहमति बाहिर गएर नियुक्ति नगर्न सुझाव दिएका थिए। उनले सो विषयमा पार्टी केन्द्रलाई समेत जानकारी गराउँदै संसदीय दलले पार्टीसँग समन्वय नगरेको उल्लेख गरेका छन्।

“दलका नेताबाट पार्टीसँग समन्वय भएको छैन, त्यसबारे केन्द्रलाई जानकारी गराएका छौं,” जैशीको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ।एमाले प्रदेश कमिटीले दलका नेता परिवर्तन गर्नुपर्ने सुझावसहित केन्द्रमा पत्राचार गरेको छ।

यससँगै केन्द्रमा दलको नेता परिवर्तनका लागि लबिङसमेत तीव्र बनेको बताइएको छ। केही प्रदेश सांसदहरू भने केन्द्रबाट ‘ग्रीन सिग्नल’ पर्खिरहेको अवस्थामा छन्। ‘हामीले पहिलेबाटै यो विषय उठाउँदै आएका थियौं, अहिले प्रदेश कमिटीले औपचारिक रूपमा पत्राचार गरेको छ।

अब केन्द्रको प्रतिक्रिया कस्तो आउँछ, त्यसपछि हाम्रो कदम तय हुन्छ’ एमालेका एक सांसदले भने । यता, एमालेभित्रको असन्तुष्टिसँगै सत्ता गठबन्धनको विकल्पबारे समेत आन्तरिक छलफल सुरु भएको छ।

कांग्रेसले नियुक्तिमा एकलौटी गरेको आरोप लगाउँदै एमालेका केही नेताहरूले केन्द्रदेखि प्रदेशसम्म नेकपासँग सहकार्य गर्नुपर्ने धारणा राखेका छन्।

नेकपाका एक नेताले पनि एमालेसँग सहकार्यको विषयमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक रहेको दाबी गर्दै दुवै पक्षबीच सकारात्मक छलफल भइरहेको बताएका छन्।

प्रतिक्रिया