बाजुरा ः जिल्ला अस्पताल बाजुरामा प्रदान हुँदै आएका अत्यावश्यक स्वास्थ्य सेवाहरू गम्भीर रुपमा प्रभावित हुने अवस्थामा पुगेका छन् । कोल्टीस्थित आधारभूत अस्पतालमा सेवा स्थानान्तरण भएपछि जिल्ला अस्पतालको सेवा प्रवाहमा प्रत्यक्ष असर पर्ने देखिएको छ ।
सूचना अनुसार हर्निया, हाइड्रोसिल, एपेन्डिसाइटिस लगायतका महत्वपूर्ण शल्यक्रिया सेवाहरू अवरुद्ध हुने अवस्थामा पुगेका छन् । एनेस्थेसिया (बेहोस पार्ने) सेवा तथा आवश्यक विशेषज्ञ चिकित्सकको अभावले सम्पूर्ण सर्जरी सेवा नै ठप्प हुने जोखिम बढेको छ ।
विशेषगरी एनेस्थेसिया सहायकको अभावमा अस्पतालमा हाल सञ्चालनमा रहेका हाडजोर्नी तथा नशा रोग सम्बन्धी सेवा र जटिल प्रकारका प्रसूति शल्यक्रिया समेत प्रभावित हुने निश्चित जस्तै देखिएको छ ।
एमडीजीपी र एनेस्थेसिया विशेषज्ञको अभावले अस्पतालको समग्र सेवा क्षमता झनै कमजोर बन्दै गएको छ । यसैबीच, अस्पताल व्यवस्थापन समिति हालसम्म गठन हुन नसक्दा समन्वय, योजना निर्माण र सेवा व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ ।
स्थानीय सरोकारवालाहरुले यसलाई प्रदेश सरकारको स्पष्ट लापरबाहीका रूपमा टिप्पणी गरेका छन् । विद्यमान संरचनाले समेत आवश्यक पहल नगरेको भन्दै गुनासो तीव्र बन्दै गएको छ । स्थानीयबासीहरु भने आधारभूत स्वास्थ्य सेवा समेत प्रभावित हुने अवस्थाले त्रसित बनेका छन् ।
समस्या समाधानमा ढिलाइ भए बाजुरा जिल्लाका नागरिकहरु सामान्य उपचारका लागि समेत टाढा जानुपर्ने बाध्यता थपिने निश्चित छ, जसले आर्थिक र मानवीय दुबै दृष्टिले ठूलो असर पार्नेछ ।
यस संवेदनशील विषयमा प्रदेश सरकार, स्थानीय तह, जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकायहरुले तत्काल समन्वय गरी आवश्यक जनशक्ति व्यवस्थापन, सेवा निरन्तरता र अस्पताल सञ्चालन सुदृढीकरणतर्फ ध्यान दिनु अत्यावश्यक देखिएको छ । अन्यथा बाजुरामा स्वास्थ्य सेवा संकट झन् गहिरिँदै जाने र नागरिकको जीवन प्रत्यक्ष जोखिममा पर्ने देखिन्छ ।
प्रतिक्रिया