बाजुरा ः स्वामीकार्तिक खापर गाउँपालिका-२ पुडेनीमा ढुङ्गाले निर्घात प्रहार गर्दा एक युवकको ज्यान गएको दर्दनाक घटना सार्वजनिक भएको छ । सामान्य विवादले हिंसात्मक रुप लिएपछि एक परिवारले आफ्नो सदस्य गुमाउनु परेको यो घटनाले ग्रामीण समाजमा बढ्दै गएको हिंसात्मक प्रवृत्तिप्रति गम्भीर प्रश्न उठाएको छ ।
२०८२ साल चैत २ गते साँझ करिब ६ः२० बजे स्थानीय करिब ४०-४५ वर्षीय धनबहादुर महतारा र उनका १८ वर्षीय छोरा हेमराज महताराले सोही स्थानका रुद्रलाल बुढाका ३५ वर्षीय छोरा सर्वाश बुढामाथि ढुङ्गाले टाउकोमा प्रहार गरेका थिए ।
गम्भीर घाइते भएका बुढाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख गगनसिंह भाटले जानकारी दिएका छन् ।
घटनाबारे साँझ करिब ७ बजे वडा नं. २ का वडा अध्यक्ष विष्णुबहादुर बुढाले टेलिफोन मार्फत मुक्तिकोटस्थित अस्थायी प्रहरी पोस्टलाई जानकारी दिएका थिए । सूचना प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक रवीन्द्र धामीको कमाण्डमा तीन जनाको प्रहरी टोली ७ः१० बजे घटनास्थलतर्फ खटिएको थियो ।
प्रहरी टोली करिब ८ः१० बजे घटनास्थल पुगेपछि कुटपिटमा संलग्न धनबहादुर महतारालाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ भने उनका छोरा हेमराज महतारा फरार रहेका छन् ।
फरार आरोपीको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । घटनास्थल अस्थायी प्रहरी पोस्ट मुक्तिकोटबाट करिब डेढ घण्टा पैदल पश्चिम पर्ने दुर्गम क्षेत्रमा रहेको बताइएको छ ।
स्थानीय तह, समुदाय र सुरक्षाकर्मीहरुले यस्ता हिंसात्मक घटनाले समाजमा भय र असुरक्षा बढाउने भन्दै विवाद समाधानका लागि संयमता, संवाद र कानुनी बाटो अपनाउन सबैलाई आग्रह गरेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।





प्रतिक्रिया