बाजुरा ः प्रतिनिधि सभा निर्वाचनमा पराजय व्यहोरेपछि पनि नेकपा (एमाले) बाजुराका नेताहरू जनताको घरदैलोमा पुगेर भेटघाटमा जुटेका छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका एमाले केन्द्रीय सदस्य लालबहादुर थापाको नेतृत्वमा जिल्ला अध्यक्ष लालबहादुर ओली सहितको टोली अहिले जिल्लाका विभिन्न गाउँमा पुगेर जनतासँग संवाद गरिरहेको छ।
एमाले बाजुराका अनुसार पहिलो चरणमा जिल्लाका सबै पालिका केन्द्रमा भेटघाट तथा समीक्षा कार्यक्रम सम्पन्न गरिएको थियो। त्यसपछि अहिले प्रत्येक जनताको घरदैलोमा पुग्ने अभियान सुरु गरिएको हो। अभियानका क्रममा नेताहरूले जनताबाट सुझाव संकलन गर्ने, आगामी योजनाबारे छलफल गर्ने तथा निर्वाचनमा साथ र सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्ने काम गरिरहेका छन्।
उनीहरूले जनतासँग प्रत्यक्ष भेटेर स्थानीय समस्या, विकासका आवश्यकता र पार्टीप्रतिको अपेक्षाबारे जानकारी लिइरहेका छन्। प्रतिनिधि सभा निर्वाचनमा थापा नेपाली कांग्रेसका नेता जनकराज गिरीसँग ५ सय ४० मत अन्तरले पराजित भएका थिए। निर्वाचनमा पराजय भए पनि आफूहरू जनताको मनबाट पराजित नभएको भन्दै एमाले नेताहरूले जनताको साथ र विश्वासप्रति कृतज्ञता व्यक्त गरिरहेका छन्।
नेताहरूले अहिलेको राजनीतिक परिस्थितिमा पुराना दलमाथि शैली र व्यवहार परिवर्तन नगरेको तथा जनताको जीवनस्तर सुधार्न नसकेको आरोप लाग्दै आएको स्वीकार्दै त्यस्ता भ्रम चिर्न आवश्यक रहेको बताएका छन्। उनीहरूले आगामी दिनमा जनतासँग अझ नजिक भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
पालिका स्तरमा आयोजित सुझाव संकलन तथा धन्यवाद सभामा एमाले नेताहरूले आफ्नो कार्यकालमा भएका कामबारे जानकारी दिँदै आगामी दिनमा अझ सक्रिय भएर जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।
साथै, आगामी स्थानीय तह तथा प्रदेश सभा निर्वाचनमा पार्टीलाई बलियो बनाउन कार्यकर्ताहरू एकजुट हुनुपर्नेमा पनि उनीहरूले जोड दिएका छन्। कार्यक्रममा सहभागी स्थानीय बासिन्दाले पनि यसपटकको निर्वाचनलाई सिकाइका रूपमा लिन नेताहरूलाई सुझाव दिएका छन्।
जनताको मुद्दा उठाएर अघि बढ्न, विकास निर्माण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन ध्यान दिन उनीहरूले आग्रह गरेका छन्। घरदैलो अभियानमा एमाले नेता लालबहादुर थापा, जिल्ला अध्यक्ष लालबहादुर ओली, दयालबहादुर शाही, देबु खाती, हिरा बहादुर रोकाया र राजेन्द्र बुढा लगायतको सहभागिता रहेको छ।






प्रतिक्रिया