बाजुरा ःदेशभर महिला तथा बालिकामाथि बढ्दो बलात्कार तथा हत्या घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै ती घटनालाई तत्काल रोक्न मागसहित नेपाल सरकारका गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ।आइतबार बाजुराका विभिन्न स्थानीय महिला समूहले प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलामार्फत गृहमन्त्रीसमक्ष ध्यानाकर्षण पत्र बुझाएका हुन्।
पत्रमा पछिल्लो समय देशका विभिन्न स्थानमा महिला तथा बालिकामाथि भइरहेका बलात्कार तथा हत्या घटनाले समाजको सुरक्षा संरचना र न्याय प्रणालीमाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरिएको छ। यस्ता घटनाले महिलाको सुरक्षा अवस्था चुनौतीपूर्ण बन्दै गएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।
ध्यानाकर्षण पत्रमा विशेषगरी भीमदत्त नगरपालिका-१० स्थित बैजनाथ सामुदायिक वन क्षेत्रमा फागुन २७ गते १२ वर्षीया बालिकामाथि भएको सामूहिक बलात्कार तथा हालै वीरेन्द्रनगरमा १६ वर्षीया किशोरी इनिसा विकमाथि बलात्कारपछि हत्या गरिएको घटनालाई उदाहरणका रूपमा उल्लेख गरिएको छ।
यस्तै नेपाल प्रहरीको तथ्यांक अनुसार नेपालमा प्रत्येक दिन औसत सात जना महिला तथा बालिका बलात्कारको शिकार हुने गरेको उल्लेख गरिएको छ। पछिल्ला पाँच वर्षमा आठ हजारभन्दा बढी बलात्कार र ३१ हजारभन्दा बढी बलात्कार प्रयासका घटना दर्ता भएको तथ्यांक पनि पत्रमा समावेश गरिएको छ।
पत्रमा भनिएको छ, “यी तथ्यांकले न्याय प्रणाली र सुरक्षा निकायहरूको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाउनुका साथै राज्यको निष्क्रियता र अपराधीलाई संरक्षण गर्ने दण्डहीनताको प्रवृत्ति पनि उजागर गरेको छ। यसले पीडित परिवार र समाजमा न्यायप्रतिको विश्वास कमजोर बनाइरहेको छ।”
स्थानीय महिला समूहकी अध्यक्ष दुर्गा थापाका अनुसार यस्ता घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कुनै पनि प्रकारको संरक्षण नगरी प्रचलित कानुनअनुसार कडा कारबाही गर्न माग गरिएको छ।
त्यस्तै बलात्कार तथा हत्या जस्ता जघन्य अपराधमा संलग्न व्यक्तिलाई कुनै पनि बहानामा उन्मुक्ति नदिन, पीडित परिवारको सुरक्षा सुनिश्चित गर्न तथा न्यायमा सहज र सम्मानजनक पहुँच उपलब्ध गराउन पनि सरकारसमक्ष माग गरिएको छ।
महिला तथा बालिकाको जीवन, सुरक्षा र गरिमामाथि भइरहेका यस्ता गम्भीर अपराधप्रति राज्यले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गर्दै ध्यानाकर्षण पत्रमा अन्यथा नागरिक समाज र मानवअधिकारकर्मीहरू संगठित रूपमा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिइएको छ।





प्रतिक्रिया