गाैमुल खबर डटकम बिहीबार २८, फागुन २०८२ ०२:१७

पत्रकार माथि अश्लील टिप्पणी र जिल्लाको गरिमा घटाउने गतिविधि सह्य हुँदैन : महासंघ बाजुरा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, फागुन २७, २०८२
पत्रकार माथि अश्लील टिप्पणी र जिल्लाको गरिमा घटाउने गतिविधि सह्य हुँदैन : महासंघ बाजुरा

बाजुरा ः नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बाजुराले सामाजिक सञ्जाल मार्फत जिल्लाको गरिमा घटाउने तथा पत्रकार र पत्रकारिता माथि अश्लील शब्द प्रयोग गरेर गालीगलौज गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढ्दै जाँदा जिल्लाको पत्रकारिता क्षेत्र र यहाँ कार्यरत पत्रकारहरुलाई लक्षित गरी भ्रामक सूचना, अफवाह र जिल्लाको प्रतिष्ठामा आँच आउने खालका गतिविधि बढेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

महासंघका सचिव प्रेमबहादुर रौलेको हस्ताक्षरित विज्ञप्तिमा यस्ता गतिविधिले समग्र जिल्लाको छवि तथा पत्रकारिता क्षेत्रको मर्यादामा नकारात्मक असर पार्ने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा सामाजिक सञ्जालमा बाजुरा जिल्लाको मानमर्दन गर्ने, पत्रकारिता पेशामाथि अपमानजनक टिप्पणी गर्ने तथा पत्रकारहरूलाई लक्षित गरी अश्लील शब्द प्रयोग गरेर गालीगलौज गर्ने व्यक्तिहरूलाई आवश्यक प्रमाणका आधारमा कानुनी दायरामा ल्याइने चेतावनी समेत दिइएको छ ।

महासंघले यस्ता गतिविधि नियन्त्रण गर्न सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गर्दै आवश्यक परे स्थानीय प्रशासन र प्रहरीसँग समन्वय गरी कानुनी कारबाही अगाडी बढाइने निर्णय समेत गरिएको जनाएको छ ।

जिल्लाको पत्रकारिता क्षेत्रको गरिमा र पेशागत मर्यादा जोगाउन सबै सरोकारवाला निकाय, नागरिक समाज तथा आम नागरिकको सहयोग अपरिहार्य रहेको महासंघको ठहर रहेको छ । 

May be an image of text

प्रतिक्रिया